निर्वाचन सुरक्षामा एक लाख म्यादी प्रहरी ४० दिनका लागि भर्ना गरिने, अर्थले कटौती गर्‍याे बजेट – Nepal Press

निर्वाचन सुरक्षामा एक लाख म्यादी प्रहरी ४० दिनका लागि भर्ना गरिने, अर्थले कटौती गर्‍याे बजेट

काठमाडौं। आगामी स्थानीय निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ। अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट स्वीकृत गरेको हो।

गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरीका लागि बजेट माग गरेको थियो। अर्थ मन्त्रालयले म्यादी प्रहरीलाई ४० दिन बराबरको मात्र बजेट दिएको छ। गृह मन्त्रालयले भने ४५ दिनका लागि प्रस्ताव गरेको थियो।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग पनि एक लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी ५० दिनका लागि भर्ना गरिनुपर्ने प्रस्ताव गरेको थियो। म्यादी प्रहरीसहित समग्र निर्वाचन सुरक्षाका लागि प्रस्ताव गरिएको बजेट पनि व्यापक कटौती भएको छ।

प्रहरी प्रधान कार्यालयले करिब ११ अर्ब माग गरेकामा गृहले ९ अर्ब हारहारीमा अर्थसँग बजेट माग गरेको थियो। बजेट भने करिब ६ अर्ब मात्र स्वीकृत भएर आएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले अर्थबाट बजेट स्वीकृत भएको पत्र गृह मन्त्रालयसम्म आइपुगेको जानकारी पाएको बताए। उनले प्रहरी प्रधान कार्यालयलाई पत्र प्राप्त हुने वित्तिकै म्यादी प्रहरी भर्नाका लागि विज्ञापन खोलिने बताए।

‘आज भोलीमै पत्र प्राप्त भयो भने एक साताभित्र विज्ञापन खोलिने छ, एसपी केसीले भने। स्थानीय निर्वाचन आगामी बैशाख ३० गते देशब्यापीरुपमा एकै चरणमा हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर