मेस्सी, एमबाप्पे र नेमारको ‘लाइन-अप’ सामु बेन्जेमाको जादुमयी शान – Nepal Press

मेस्सी, एमबाप्पे र नेमारको ‘लाइन-अप’ सामु बेन्जेमाको जादुमयी शान

काठमाडौं । लियोनल मेस्सीलाई क्लबमा भित्र्याउनु पछाडि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन-पीएसजीको एक मात्र ध्येय थियो- युरोपियन च्याम्पियन्स लिग जित्नु ।

क्लबमा पहिला नै केलियन एमबाप्पे, नेमार, एन्जेल डी मारियाजस्ता खेलाडीहरू रहेकाले अनुमान स्वाभाविक थियो-पीएसजीलाई अब युरोपियन च्याम्पियन्स लिग जित्नबाट कसैले रोक्न सक्दैन ।

बार्सिलोनाका लागि १७ वर्ष खेलेर बाहिरिएका मेस्सीसामु पनि आलोचकलाई जवाफ दिने चुनौती थियो- उनी अन्य क्लबबाट पनि उत्तिकै प्रदर्शन र उत्तिकै उपाधिहरू जित्न सक्छन्, खासगरी युरोपियन च्याम्पियन्स लिग ।

तर दुर्भाग्य, मेस्सी, एमबाप्पे र नेमारसम्मिलित पीएसजी यो सिजन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ, बुधबार राति स्पेनिस क्लब रियल म्याड्रिडसँग ३-१ गोलले पराजित भएर । त्यसो त रियल म्याड्रिड प्रतियोगिताको सर्वाधिक विजेता पनि हो तर यसपटक उसलाई सजिलो थिएन ।

पहिलो लेगमा पीएसजीको मैदानमा १-० गोलले पराजित भएको रियल म्याड्रिड बुधबार राति एक समय यस्तो अवस्थामा देखिएको थियो, पीएसजी अब क्वाटरफाइनल पुग्नबाट रोकिने छैन ।

पहिलो हाफमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजी समग्रमा २-० गोलले अगाडि देखिएको थियो । तर, दोस्रो हाफमा स्पेनिस क्लबले घरेलु मैदानमा अप्रत्यासित पुनरागमन गर्‍यो । त्यसमा पनि एकै खेलाडी हाबी भए । ती थिए करिम बेन्जेमा । बेन्जेमाले ६१ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुई मिनेटको अन्तरमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बेन्जेमाले ७६ र ७८ औँ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई क्वाटरफाइनल पुग्न सक्ने स्थितिमा पुर्‍याएका थिए । त्यसपछि पनि रियलले लगातार दबाब बनाएको थियो ।

दुर्भाग्यशाली पीएसजी

सन् २०१० यता पीएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित तयारी गरे पनि त्यो सफलता प्राप्त गर्न सकेको छैन । गत सिजन सेमिफाइनलसम्म पुगेर म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । सन् २०१९/२० सिजनमा पीएसजी फाइनलसम्म पुगेको थियो तर बायर्न म्युनिखले उपाधि भिडन्तमा हराएको थियो ।

सन् २०१८/१९ सिजन प्रिक्वाटरफाइनबाट बाहिरिएको पीएसजी त्यसभन्दा अघिल्लो सिजन पनि अन्तिम १६ बाटै विदा भएको थियो । २०१६/१७ सिजन भने पीएसजीको विर्सनलायक बहिर्गमन भएको थियो, क्वाटरफाइनलबाटै ।

त्यतिबेला हालका पीएसजीका खेलाडीहरू मेस्सी र नेमार बार्सिलोनामा थिए । बार्सिलोनासँग पहिलो लेग ३-० गोलले जितेको पीएसजी दोस्रो लेगमा ६-१ गोलले पराजित भएको थियो । यसपटक पीएसजीमा रहेका मेस्सी र नेमारलाई रियल म्याड्रिडले त्यस्तै अनुभव गराए ।

पहिलो लेगमा एमबाप्पेले इन्जुरी समयमा गोल गर्दै पीएसजीलाई जिताएका थिए । बुधबार राति एमबाप्पेले गोल गर्नुअघि उनका दुई वटा गोललाई रेफ्रीले अफसाइड दिएका थिए । पहिलो हाफमा पीएसजीले क्रमश: दबाब बढाएको थियो । तर, दोस्रो हाफमा कमजोर रक्षापंक्ति र गोलरक्षकको कमजोरीका कारण पीएसजी एकाएक दबाबमा परेको थियो ।

रोनाल्डोलाई बिर्साएका बेन्जेमा, पछि लागेका मेस्सी

रियल म्याड्रिडलाई लगातार तीन सिजन युरोपियन च्याम्पियन बनाएर क्रिस्टियानो रोनाल्डो बाहिरिएपछि क्लबमा उनको अभाव बेन्जेमाले मेटिरहेका छन् । यो सिजन रियल म्याड्रिडले घरेलु लिग जित्ने लगभग पक्का छ । उनी यो सिजन घरेलु लिगका सर्वाधिक गोलकर्ता रहेका छन्। च्याम्पियन्स लिगमा उनको गोल संख्या यो सिजन ८ पुगेको छ ।

रोनाल्डोले रियल छाडेयता बेन्जेमाले घरेलु लिगमा सन् २०१८/१९ र २०१९/२० सिजन लगातार २१ गोल तथा गत सिजन २३ गोल गरेका थिए । सन् २०१९/२० सिजन रियल म्याड्रिडले घरेलु लिग पनि जितेको थियो । बेन्जेमा च्याम्पियन्स लिग इतिहासमा सर्वकालीन चौथो सर्वाधिक गोलकर्ता हुन् । उनले ७९ गोल गरेका छन् । ३४ वर्षीय यी फ्रेन्च स्ट्राइकर सन् २००९ देखि रियल म्याड्रिडमा छन् ।

रोनाल्डोले छाडेयता रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्न सकेको छैन । रियल छाडेयता रोनाल्डोले पनि च्याम्पियन्स लिग उपाधि जित्न सकेका छैनन् ।

तीन सिजन युभेन्ट्सबाट खेलेका रोनाल्डो यसै सिजन पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएका थिए । यी दुवै क्लबले रोनाल्डोलाई आबद्ध गर्नुको कारण च्याम्पियन्स लिग जित्ने लक्ष्य नै हो । रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक उपाधि विजेता र सर्वाधिक गोलकर्ता हुन् ।

पीएसजीमा पहिलो सिजनको असफलताले मेस्सी पनि रोनाल्डोजस्तै उपाधिविहीन यात्रामा देखिएका छन्। क्लबको अपेक्षा पूरा गर्न नसकेको आरोप उनीमाथि पनि लाग्ने छ। मेस्सी च्याम्पियन्स लिगका सर्वकालीन दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर