धनुषा कांग्रेस निर्वाचनः सभापतिका लागि दोस्रो चरणको मतदानमा ढिलाइ, निर्वाचन अधिकृतलाई धम्की – Nepal Press

धनुषा कांग्रेस निर्वाचनः सभापतिका लागि दोस्रो चरणको मतदानमा ढिलाइ, निर्वाचन अधिकृतलाई धम्की

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि आज विहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको मतदान अहिलेसम्म सुरु हुन सकेका छैन ।

जनकपुरस्थित तिरहुतिया गाछीमा मतदान हुने भनिएको छ । तर मतदानस्थल अहिले सुनसान जस्तै छ । त्यहाँ केहि मतदाता र नेताको मात्र उपस्थिति देखिएको छ ।

निर्वाचन समिति सचिवालयका प्रमुख राम गुलाम कर्णले सभापतिका दुई उम्मेदवार सन्तोष यादव र योगेन्द्र पजियार (जोगी)बीच छलफल जारी रहेकाले मतदान सुरु हुन नसकेको बताए ।

उनले भने, ‘यो पार्टीको आन्तरिक चुनाव हो । त्यसैले छलफल र सहकार्यका लागि दुबै उम्मेदवार बसेका छन् । हामी मतदान गराउन तयार छौं । सहमती नजुटेको अवस्थामा मतदान अगाडी बढाउन भनेको आधा घण्टाभित्रै मतदान सुरु गर्छौं ।’

यादव संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहबाट र पजियार नेता विमलेन्द्र निधी समूहबाट प्रतिस्पर्धामा उत्रेका छन् । शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका दिनेश प्रसैलाले पहिलो चरणको मतदानमा सबभन्दा कम मत ल्याएका कारण प्रतिस्पर्धाबाट आउट भएका हुन् ।

तर प्रसैला दोस्रो चरणको निर्वाचनमा निर्णायक बनेका छन् । उनले निधी समूहका उम्मेदवार पजियारलाई समर्थनको घोषणा गरेपछि संस्थापन पक्षका उम्मेदवार यादव कमजोर देखिएका छन् ।

स्रोतका अनुसार संस्थापन पक्षका नेताहरुले निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीलाई जनकपुरधाम छाड्न धम्की दिएका छन् । निर्वाचन सचिवालय प्रमुख कर्णले पनि हिजो केहि व्यक्ति अधिकृतलाई धाकधम्की लगाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर