राप्रपा नेपालमा कार्यविभाजन : कमल थापा अन्तर्राष्ट्रिय र बर्तौलाले पाए संगठनको जिम्मेवारी – Nepal Press

राप्रपा नेपालमा कार्यविभाजन : कमल थापा अन्तर्राष्ट्रिय र बर्तौलाले पाए संगठनको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीका पदाधिकारी र सदस्यहरुको कार्यविभाजन गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष कमल थापालाई दिएको छ ।

यस्तै, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल र नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष डा. विष्णु भण्डारीले पाएका छन् ।

यस्तै, सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्र, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ, कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री ईन्द्र चित्रकार, संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तीलाले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का चयन भएको प्रवक्ता सुरेश आचार्यले बताए ।

यस्तै सो पार्टीले नेपालले चैत महिनाभरी जनताको माझमा राप्रपा नेपाल अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ुजनताको माझमा राप्रपा नेपालु अभियान अन्तर्गत सातै प्रदेश राजधानीहरूमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यस्तै चैत महिनाभित्र नै स्थानीय तहहरूमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने, कार्यसमिति गठन भइसकेका जिल्लाहरूमा कार्यसमिति गठन भएको २१ दिन भित्र अनिवार्य रूपले जिल्ला स्तरीय भेला आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर केन्द्रीय कार्यसमिति घोषणा भइसकेका भातृसंगठनका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र जिल्ला कार्यसमिति गठन भइसकेका जिल्लाहरूमा २०७८ चैत्र महिना भित्र प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि भएको प्रवक्ता सुरेश आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर