चुनाव जित्न कस्सियो कांग्रेस, नेकपा सरकारको भण्डाफोर गर्दै टोलसम्मै पुग्ने अभियान – Nepal Press

चुनाव जित्न कस्सियो कांग्रेस, नेकपा सरकारको भण्डाफोर गर्दै टोलसम्मै पुग्ने अभियान

काठमाडौं । गत प्रतिनिधिसभा निर्वाचनपश्चात गठित ‘नेकपा नेतृत्वको सरकारको भण्डाफोर र एमसीसी अनुमोदनको बचाउ गर्ने’ मुख्य कार्यक्रमसहित नेपाली कांग्रेस चुनाव केन्द्रीत अभियानमा होमिएको छ । बैशाख ३० गते स्थानीय निर्वाचन हुन लागेको सन्दर्भमा कांग्रेसले केन्द्रदेखि टोल समितिसमेत सक्रिय हुनेगरी १ महिने अभियान घोषणा गरेको हो । फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानलाई ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै १ महिने अभियानबारे जानकारी गराएका छन् । प्रवक्ता महतका अनुसार विभिन्न ८ उद्देश्य राखेर १ महिने अभियान सुरु हुन लागेको हो । जसमा स्थानीय निर्वाचनमा मतदानका लागि जनतालाई आह्वान गर्ने, विगतमा पार्टीले गरेका कामको स्मरण गराउने , केपी ओली नेतृत्वको नेकपा सरकारको भण्डाफोर गर्ने, देउवा सरकारका कामको प्रचार गर्ने लगायतका उद्देश्य अभियानले राखेको छ ।
‘जनताको आवश्यकता, पीर मर्का, चाहना एवं आकांक्षहरुलाई पनि बुझ्ने र विपक्षीहरुले गरेका कुप्रचार तथा भ्रमहरुलाई पनि चिर्ने उद्देश्यका साथ हामीले अभियान सुरु गर्दैछौ’, कांग्रेस प्रवक्ता महतको भनाई छ ।

यस्तो हुनेछ अभियान

कांग्रेसले १ महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा फागुन २९ गते दिउँसो १ बजे एकैपटक अभियानको उद्घाटन गर्नेछ । जिल्लास्तरीय उद्घाटनसभाबाट अभियान उद्घोष गरेलगत्तै कार्यक्रमहरु पालिका र वडाकेन्द्रीत गर्ने कांग्रेसको तयारी छ । उद्घाटनकै दिन कांग्रेसका स्थानीय पालिका र वडाहरुको प्रतिनिधिको नामावलीसमेत सार्वजनिक गरिनेछ । त्यस्तै अभियानका लागि कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्र , प्रदेशसभा क्षेत्र र पालिका समितिहरुको कार्यक्षेत्र तोकेरै केन्द्रबाट सर्कुलर गरेको छ । एक महिनाभर सबै वडामा कार्यकर्ता प्रशिक्षण, प्रचार सभा, मतदाता शिक्षा कार्यक्रम लगायतका गतिविधि गर्ने कांग्रेसको भनाई छ ।

कांग्रेसले अभियान अन्तर्गत हरेक वडाका ज्येष्ठ नागरिकरुहलाई सम्मान गर्नेछ । कर्म सम्मान कार्यक्रम अन्तर्गत स्थानीय तहमा प्रेरणादायी काम गर्नेहरुलाई पनि कांग्रेसले सम्मान गर्नेछ । पहिलोपटक मतदाता नामावलीमा समावेश भएकाहरुलाई मतदाता तालिम पनि अभियान अन्तर्गत नै दिइनेछ । त्यस्तै ‘जनतासँग विकास संवाद’ का रुपमा हरेक वडामा आवश्यक विकास निर्माणका योजनाहरुको विवरण कांग्रेसले अद्यावधिक गर्नेछ । जसलाई स्थानीय चुनावी घोषणापत्रमा कांग्रेसले समावेश गर्नेछ । यसपटक कांग्रेसले जनताका अपेक्षासमेत सोध्ने भएको छ । ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन् ?’ भन्ने ब्यानरसहित कांग्रेसले वडा तहमा जनताको अपेक्षाहरु बुझ्न अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने प्रवक्ता महतले जानकारी दिए ।

भ्रातृ संस्थाहरु बन्दै

कांग्रेसले १ महिने अभियानमा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई बढीभन्दा बढी परिचालन गर्ने नीति लिएको छ । कांग्रेस कार्यसम्पादन समितिले म्याद सकिएका भ्रातृ संस्थाहरुको तदर्थ समिति फागुन मसान्तसम्म गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार भ्रातृ संस्थाहरुको तदर्थ समिति तत्काल गठन हुने कांग्रेस नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा उपस्थित महामन्त्री विश्वप्रकाश शर्माले तदर्थ समिति बन्ने क्रममा रहेका भ्रातृ संस्थाहरुले चार्ड पूर्णता पाउने बताए । ‘केन्द्रीय समिति भएका भ्रातृ संस्थाहरु अभियानमा सक्रिय हुन गार्हो छैन । जुन जुन भ्रातृ संस्थाको केन्द्रीय समिति बन्न बाँकी छ त्यो चाडै बनेर अभियानमा जोडिनेछ’, प्रवक्ता शर्माले भने ।

हरेक काँधलाई भारी , हरेक हातलाई जिम्मेवारी

स्थानीय निर्वाचनकेन्द्रीत १ महिने अभियानमा पार्टीका सबै तहका नेता कार्यकर्तालाई जिम्मेवारी दिइने कांग्रेसले जनाएको छ । ‘पार्टीमा जिम्मेवारीको समुचित बाँडफाँट नहुँदा विगतमा भोगेका समस्याहरु यसपटक आइपर्न नदिन सबैलाई जिम्मेवारी दिने र सक्रिय राख्ने तयारी हामीले गरेका छौं’, प्रवक्ता महतको भनाई छ । ‘हरेक काँधलाई भारी , हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा नै तोकेर कांग्रेसले सबै तहमा गठन हुनुपर्ने विभाग, समिति र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर अभियानमा होमिने बताएको छ । अधिवेशनबाट निर्वाचित भएका वडा समितिले अभियानकै दौरान टोल समिति गठन र विधानले आवश्यक ठान्ने अन्य समितिहरु गठन गर्नेछन् । त्यस्तै निर्वाचन हुने हरेक बुथमा १ सय तरुण खटाउने प्रबन्ध पनि कांग्रेसले गरेको छ । ‘वन बुथ, हन्ड्रेड युथ’ को अवधारणा अनुसार सबै बुथमा १ सय तरुण खटाउँदा कांग्रेसका हरेक क्रियाशील सदस्यले जिम्मेवारी पाउने विश्वास कांग्रेसले व्यक्त गरेको छ ।

एमसीसी अनुमोदनबारे जनतालाई बुझाइने

कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीत १ महिने अभियानको महत्वपूर्ण पाटोका रुपमा एमसीसी पनि रहेको छ । संसदबाट अनुमोदन भएको एमसीसी सम्झौताबारे जनस्तरमा भएका जिज्ञासा मेटाउने र भ्रम निवारण गर्ने कांग्रेसले जनाएको छ । अभियानको घोषित कार्यक्रममै ‘एमसीसी भ्रम निवारण र वास्तविकता प्रसारणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने’ उल्लेख छ । एमसीसीबारे बुझाउन कांग्रेसले प्रश्नोत्तरसहितको हाते पुस्तिका तथा श्रव्यदृश्य सामाग्री नै तयार पारेर प्रचार गर्ने जनाएको छ ।

कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको पूर्णपाठ-

१) अभियानको नाम : ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान ।

२) अभियानको समयावधि : फागुन २९ देखि चैत २९ सम्म १ महिना ।

३) अभियानको उद्देश्य । एक अभियान/आठ उद्देश्य :

  • क) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालार्इ अपील गर्दै निर्वाचनको माहौल बनाउने ।
  • ख) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने । कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने ।
  • ग) `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने ।
  • घ) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने ।
  • ङ) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने ।
  • च) प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने ।
  • छ) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने ।\
  • ज) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना MCC नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने ।

४) अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु

  • अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु हुनेछ ।

५) प्रतिनिधिहरुको दायित्व र जिम्मेवारी

  • केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ । अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ ।

६) अभियानमा सात प्रदेश कार्यसमितिको भूमिका

संघीय संरचना निर्माण पश्चातको यो प्रथम अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
सो क्रममा…

  • क) केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण ।
  • ख) सम्पूर्ण कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड ।
  • ग) अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय ।
  • घ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो प्रदेश भित्र `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा ।
  • ङ) आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने ।

७) अभियानमा जिल्ला कार्यसमितिको भूमिका

  • क) अभियान शुरु हुनु भन्दा कम्तीमा २ दिन अघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने ।
  • ख) जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने ।
  • ग) अभियानको जिल्ला स्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने ।
  • घ) अभियानलाई सफल बनाउन आफु अन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरु परिचालन गर्ने ।
  • ङ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो जिल्ला भित्र `घरघर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा गर्ने ।

८) अभियानमा प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको भूमिका

  • क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
  • ख) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक-फरक वडामा परिचालन गर्ने ।

९) अभियानमा पालिका समितिहरुको भूमिका

  • क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
  • ख) `स्थानीय घोषणापत्र निर्माण समिति´ गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने । समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकार लगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने ।
  • ग) समिति मार्फत `घोषणा पत्र निर्माण संवाद´ कार्यक्रम आयोजना गरेर स्थानीय बासिको भावना समाहित गर्ने ।
  • घ) वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप ब्यापक कार्य विभाजन गर्ने ।
  • ङ) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।

१०) अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत

  • क) ७७ जिल्लामा एकै दिन, एकै समयमा १.०० बजे, एकसाथ, जिल्ला स्तरीय रूपमा उद्घाटन समारोह हुनेछ ।
  • ख) उद्घाटन समारोह मार्फत अभियानको उध्येश्य, समयावधि र कार्यक्रमको स्वरुप बारे जानकारी गराइनेछ ।
  • ग) उद्घाटन समारोहमा वडा तहमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिनेछ । (वडामा जिल्ला प्रतिनिधिका रूपमा पार्टीको नेतृत्वदायी तहमा रहेका साथीहरू खटिनुहुनेछ)
  • घ) स्थानीय स्थिति र आवश्यकता अनुरुपको संख्यामा प्रतिनिधि टोलि जिल्ला समितिको निर्णय अनुरुप वडामा खटिने छ ।

११) कार्यक्रमको निर्धारित क्षेत्र

  • जिल्ला स्तरीय उद्घाटन समारोह पश्चात सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलत वडा र टोल केन्द्रित हुनेछन् ।

१२) अभियानको एक पाटो स्थानीय समितिहरुको आन्तरिक संरचनालाई पूर्णता

  • क) सबै पालिका समितिले अभियानको समयावधिभित्र `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप (कार्यसम्पादन, विभाग लगायत परिपत्रमा उल्लेखित एवं अन्य आवश्यक) कार्य विभाजन सम्पन्न गर्नेछन् ।
  • ख) अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधि भित्र (कार्यसम्पादन, विभाग लगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्नेछन् ।
  • ग) गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन् ।
  • घ) गठित टोल समिति अन्तर्गतको अन्य संरचना दोस्रो साताभित्रै गठन गरिनेछन् ।
  • ङ) अभियानको निर्धारित सबै कार्यक्रमका लागि वडा समितिले आफ्नो सहजता र कार्यक्रमको प्रकृति अनुरुप पालिका समितिसँग समन्वय गरेर स्थानीय मिति तय गर्नेछन् ।

१३) अभियानको अनुगमन

  • अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ति समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।

१४) वडा र पालिका तहमा सम्पन्न हुने कार्यक्रमहरु:

सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन् ।

१४.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु गठन ।

१४.२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण ।

१४.३) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)

१४.४) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद ।
१४.५) FTVT Program (First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)

१४.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´

पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन ।

१४.७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने ।
१४.८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´ सम्म ।

समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान ।

१४.९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव लिने ।

१४.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने । (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)

१४.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने ।

१४.१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने ।

१४.१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने । त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने ।

१४.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा ।

  • (पार्टी + महिला संघ + शिक्षक संघ)
  • (पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)

१५) अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरुको भूमिका

  • क) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
  • ख) केहि भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ति संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने ।
  • ग) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने ।

१६) अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरुको भूमिका

  • क) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने ।
  • ख) समिति अन्तर्गत स्थानीय तह संरचनाको राजधानी सम्पर्क विस्तार गर्ने ।
  • ग) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने ।

१७) अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको जिम्मेवारी

  • क) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ-आफ्नो स्थानीय तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने ।
  • ख) सामाजिक संजाल मार्फत अभियानलाई बल पुर्‍याउने ।

-डा. प्रकाशशरण महत
प्रवक्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर