रामकोट सामूहिक आत्महत्या प्रयास : एकजनाको स्वास्थ्यमा सुधार, तीनजना अझै भेन्टिलेटरमा – Nepal Press

रामकोट सामूहिक आत्महत्या प्रयास : एकजनाको स्वास्थ्यमा सुधार, तीनजना अझै भेन्टिलेटरमा

काठमाडौं । काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासपछि भेन्टिलेटरमा उपचाररत् ४ जनामध्ये एकको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ३५ वर्षीय मन्दिरा प्रधानको स्वास्थ्य स्थितिमा सुधार देखिएको हो । ‘मन्दिरा रेस्पन्सिभ हुन थालेको जानकारी पाएका छौँ’, एसपी मैनालीले भने ।

एकैपरिवारका ५ जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटनामा एकजनाको मृत्यु भइसकेको छ । घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’ मा आत्महत्याको प्रयासको कारण चरम आर्थिक संकट र स्वास्थ्य समस्या रहेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।

रामकोटमा सोमबार बेलुका साढे ९ बजे फ्ल्याट भाडामा लिएर बस्दै आएका एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ ।

६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा रामकोटमा डेरा सरेका थिए । उनीहरू फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनीहरूको कोठामा विषका बट्टाहरू भेटिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६२ वर्षीय इन्दिरामाया क्यान्सरको बिरामी रहेको तथा भीममान र सुवर्णमानले मानसिक समस्याको औषधि सेवन गरिरहेको पाइएको छ । औषधि-उपचारका क्रममा परिवार आर्थिक संकटमा परेको हुन सक्ने प्रहरी प्रारम्भिक अनुमान छ ।

मृतक सुवर्णमान, भीमामानका दाइका छोरा हुन् । सोमबार राति साढे ९ बजे च्यानल गेटमा भित्रबाट दुईवटा ताला लगाएको अवस्थामा तीनवटा कोठामा प्रधान परिवारका सदस्यहरू बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीले झ्याल र ढोकाको ताला फुटाएर उनीहरूको उद्धार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर