पार्टीमा बहस- प्रचण्ड आफैं माओवादीमा नेतृत्व विकासको बाधक ! – Nepal Press

पार्टीमा बहस- प्रचण्ड आफैं माओवादीमा नेतृत्व विकासको बाधक !

काठमाडौं । ‘पार्टी जीवनको २४ वर्षपछि सम्पूर्णरूपले जिम्मेवारीविहीन भएको छु। प्रदेश समितिको जिम्मेवारीबाट गत मंसीरदेखि मुक्त छु । केन्द्रीय विभाग महाधिवेशनपछि स्वतः विघटित छन्। विभागहरू पनि नामका लागि बन्छन्, कामकाजी छैनन्। ‘ब्युरोक्र्याटिक मोडेल’को पार्टीमा पद नहुनेहरूलाई डस्ने, ‘ह्युमिलेट’ गर्ने प्रवृत्ति डरलाग्दो नै छ।’

यो हो माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक भएका मनहरी तिमिल्सेनाले समाजिक संजालमार्फत पोखेको गुनासो । माओवादीको केन्द्रीय स्कुल विभाग सदस्य समेत रहेका उनी महाधिवेशनपछि कुनै विभाग नबनेकाले त्यो भूमिकामा पनि छैनन् ।

यो माओवादीका धेरै नेता, कार्यकर्ताको साझा गुनासो र भोगाइ पनि हो । पार्टीमा कार्यविभाजन नहुँदा धेरैले काम गर्न चाहेर पनि कुनै भूमिका पाएका छैनन् । तिमिल्सेनाले गुनासोसँगै एउटा सुझाव पनि दिएका छन्- ‘आजको परिस्थितिमा कि प्रत्येक कार्यकर्ताको व्यक्तिगत फाइल खडा गरेर न्यायोचित कार्यसम्पादन मूल्यांकन कि खुल्ला निर्वाचनबाहेक तेस्रो विकल्प छैन।’

यो पनि माओवादी धेरै नेता-कार्यकर्ताको साझा सुझाव हो । तर, माओवादीले यी कुनै चीज गरिरहेको छैन्। महाधिवेशन सकिएको धेरैपछि बसेको केन्द्रीय समिति बैठकबाट धेरैले आसा गरेका थिए- ‘यसपाली त पदाधिकारी चयन हुने छन्, स्थायी समिति र पोलिटब्युरो गठन हुने छन् । कार्यविभाजनमार्फत प्रत्येकले काम पाउँने छन् ।’

तर, यी कुनै पनि काम हुन केन्द्रीय समिति बैठकबाट भएनन् । दुई दिन चलेको (फागु २० र २३) बैठकले अरु त अरु केन्द्रीय समितिलाई पूर्णता दिन सकेन् । बैठकमा प्रचण्डले ९७ जनाको नाम प्रस्ताव गरे । तर, ती नामले सहमति भन्दा पनि ‘बबण्डर’ खडा भयो । हचु्वाका भरमा पेस गरिएका नाममा पार्टीकै धेरै नेताहरुले असन्तुष्टि जनाएपछि प्रचण्डले ५० नाम मात्रै अनुमोदन गरेर बैठक सकाए ।

चुनाव मुखमै आएको भन्दै एमसीसीको विवाद आगामी जेठ २० सम्मलाई स्थगन गरिएको छ । कार्य विभाजनका नाममा सात प्रदेशमा प्रदेश इन्चार्ज तोक्ने बाहेकका कुनै पनि काम बैठकबाट भएनन् । न त कुनै विभाग नै गठन भए । माओवादीले ३२ विभाग हुने विधानमा व्यवस्था गरेको छ । ती विभाग बनाएको भए धेरै नेता, कार्यकर्ताले पार्टीमा काम पाउथे ।

एकल नेतृत्वको रहर

प्रचण्डले एकल नेतृत्वमा चुनावमा जाने रहर देखाएका छन् । प्रचण्डले चाहेको भए पदाधिकारीमा पनि कुरा मिलाउन सक्थे तर उनले महासचिवमा दावेदार धेरै भएको बहाना बनाएर त्यो काम पनि गर्न चाहेनन् । स्थायी समिति र पोलिटब्युरो बनाउन कुनै गाह्रो थिएन । स्थायी समितिमा यसअघि रहेकालाई निरन्तरता दिँदै वरिष्ठताका आधार केही थप्दा सकिन्थ्यो । पोलिटब्युरोमा पनि वरिष्ठता हेरेर ल्याउन कुनै गाह्रो थिएन ।

एक दिन थप बैठक लम्ब्याएर गृहकार्य गरेको भए विभागहरु गठन र कार्यविभाजन गर्न पनि कुनै गाह्रो थिएन । तर, यी सबै चिजमा प्रचण्डले जाँगर देखाएनन् । उनले आगामी जेठ २० को भाका सारेका छन् । यी सब काम नहुनुमा विवाद भन्दा पनि प्रचण्डको अनिच्छा प्रमुख रहेको माओवादीकै नेताहरु बताइरहेका छन् । यसमा एकल र एकछत्र रुपमा पार्टी नेतृत्व गर्ने चाहाना प्रचण्डको देखिन्छ, जुन उनले विगत तीन देशकदेखि गर्दै पनि आएका छन् ।

माओवादी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुको गुनासो प्रचण्डले आफूपछिको नेतृत्व पार्टीमा विकास गर्न नै नचाहेको भन्ने छ । अहिले पदाधिकारी पनि बनाएर गएको भए नेतृत्व विकास स्वतः हुन्थ्यो तर उनले नै यसमा रुची नदेखाएपछि त्यो कसरी हुन्छ भन्ने भनाइ बैठकमा सहभागी धेरै केन्द्रीय सदस्यहरु अनौपचारिक कुराकानीका क्रममा व्यक्त गर्थे ।

केन्द्रीय सदस्य दलजित शेर्पाइली अब पहिलो पुस्ताका नेतृत्वबाट पार्टी नै नबन्ने बताउँछन् । ‘पार्टी निकै दलदलमा फसिसकेको छ,’ उनको भनाइ छ, ‘अब पहिलो पुस्ताबाट पार्टीको उद्धार हुँदै हुँदैन । उहाँहरुले जति गरिसक्नुभयो, गर्नुभयो । उहाँहरुबाट अब थप हुने केही पनि होइन ।’

न विधि, न विधान

माओवादी पार्टी अहिले न कुनै विधिमा चलेको छ, न त विधान अनुसार नै । प्रचण्डले नेतृत्व चयन देखि कार्यविभाजनसम्ममा न कुनै विधि अपनाउन सकेका छन्, न त आफ्नो निर्णय लाद्न नै । विधानमा बहुपदाधिकारीको व्यवस्था गरिए पनि महिनौंसम्म त्यो नबनाउँदा कस्तो मनोवैज्ञानिक प्रभाव नेता कार्यकर्तामा पर्छ भन्ने कुराको हेक्का प्रचण्डले राखेको देखिएन । न नेता कार्यकर्ताहरु उत्साहित भएर महाधिवेशनबाट जान सके, न त केन्द्रीय समितिको बैठकपछि नै ।

नेता हरिबोल गजुरेल पहिले प्राविधिक कारणले ढिला भए पनि अब भने प्रक्रियामा प्रवेश गरिएको बताउँछन् । ‘अब हामी बल्ल प्रक्रियामा गयौं,’ उनको भनाइ छ, ‘पहिले केन्द्रीय समितिलाई पूर्णता दिने, त्यसपछि चुनावपछि पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिइन्छ । केन्द्रीय समितिले नै पूर्णता नपाउँदा धेरै केन्द्रीय सदस्यको पदाधिकारीको उम्मेदवार बन्न पाउने हक खोसिन्थ्यो । त्यही कारण पनि हतार-हतारमा अरु काम नगरौं भन्ने भयो।’

स्वयं गजुरेल पनि अब पार्टीमा एउटा विधि स्थापित गरेर जानुपर्नेमा जोड दिन्छन् । कांग्रेस एमाले जस्तै ठ्याक्कै चुनावी प्रणालीमा पनि जान नसकिने भन्दै उनी चुनावी नतिजा र मुल्यांकनबाट पाएको अंक जोडेर नेतृत्व छान्ने विधिमा जानुपर्ने बताउँछन् उनी।

‘खाली चुनावमा मात्रै जाँदा पनि पार्टीभित्र गुट बन्न जान्छ, किनभने अखिल (क्रानित्कारी)मा हामीले देखेका छौं,’ उनको भनाइ छ, ‘कांग्रेस-एमालेको जस्तो चुनाव मात्रै भन्दा पनि नयाँ प्रणालीमा जान खोजेको हो । हामीले बनाउ खोजेको नयाँ प्रणालीमा ५० प्रतिशत मुल्यांकन र ५० प्रतिशत चुनावी परिणामबाट नेतृत्व छान्ने हो । यसो भयो भने चुनावमा हुने पैसा खर्च पनि रोकिन्छ, उपयुक्त नेतृत्व पनि आउँछ । मुल्यांकनमा कम आउने डरले सबै नेता कार्यकर्ता अनुशासित पनि हुन्छन् ।’

गजुरेलको यो प्रस्ताव महाधिवेशनअघि देखिकै हो । तर, यसलाई माओवादीले अहिलेसम्म कतै पनि आत्मसाथ गर्न सकेको छैन् । माओवादी अहिले एक हिसाबले ‘सांगठनिक अराजकता’ चलिरहेको छ।

केन्द्रमा मात्रै होइन, प्रदेशमा पनि सम्मेलन भएको लामो समयसम्म पदाधिकारी विहिन छन् । गत मंसिर २५ मा सबै प्रदेशका सम्मेलन उद्घाटन भएको भए पनि मधेश प्रदेशमा अहिलेसम्म अध्यक्षकै टुंगो लागेको छैन् ।

कर्णाली र लुम्बिनी प्रदेशमा अध्यक्षबाहेक अन्य पदाधिकारी बन्न सकेका छैनन् । पदाधिकारी बनाउन नसक्ने रोग भातृ संगठनमा पनि सल्केको छ । अखिल (क्रान्तिकारी)मा अध्यक्ष मात्रै तोकिएको छ । सम्मेलन नभएको लामो समयसमम अन्य पदाधिकारी बनाउन सकिएको छैन् । प्रेस सेन्टर पनि सम्मेलन भएको लामोसमयसम्म अध्यक्ष बाहेकका पदाधिकारीबाटै चलिरहेको छ । अन्य भ्रातृ संगठनमा पनि त्यस्तै अवस्था छ ।

पारिवारिक मोह

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति पुरा गर्न भन्दै ९७ जनाको नाम पेस गरे, जसमा उनका छोरी र ज्वाइको पनि नाम समावेश थियो। रेणु दाहाल पहिलेदेखि नै केन्द्रीय सदस्य भएकाले उनलाई दोहोर्‍याउँदा विवाद भएको थिएन ।

तर, हिजो पेस गरेको सूचीमा छोरी गंगा दाहाल र ज्वाइ जीवन आचार्य पनि समावेश भएपछि माओवादीकै नेताहरु आक्रोसित भए । धेरै केन्द्रीय सदस्यले बैठकमा विरोध गरेपछि प्रचण्डका छोरी-ज्वाइसहित ४७ जनाको नाम अनुमोदन गरिएन ।

प्रचण्डले आफ्ना छोरी-ज्वाइको पनि नाम प्रस्ताव गरेपछि बाहिर पार्टीलाई आफ्नो निजी क्लव बनाउन खोजेको टिप्पणी भए । धेरै केन्द्रीय सदस्यहरु अनौपचारिक कुराकानीमा बाहिर टिप्पणी भए जस्तै शब्द प्रयोग गरेर प्रचण्डको आलोचना गरिरहेका थिए ।

तर, माओवादी नेता वर्षमान पुन युद्धबाट आएको पार्टीमा धेरै पारिवारिक सदस्य देखिनु स्वभाविक भन्दै अव सुधार गरेर जाने बताउँछन् । ‘हामी युद्धबाट आएको पार्टी हौं,’ पुन भन्छन्, ‘युद्धमा जो-जो भेटियो हिँड्ने, बलिदान गर्ने, संगठन गर्ने काम हुन्थ्यो । स्वभाविकरुपले हिजो त्याग गरेका, बलिदान गरेका र लडेकै साथीहरु छन् । आफन्त भन्दा पनि हिँजो बलिदान गर्ने मान्छेहरु हुन् ।’

उनी थप्छन्, ‘हामी समावेशिता भनेर नयाँ-नयाँ क्षेत्रमा गएर कार्यकर्ताहरु पनि लिइरहेकाछौं । युद्धमै सहभागी नभएका साथीहरु अहिले केन्द्रीय तहमा आइसकेका छन्। यद्यपि बाहिर उठेका कुरालाई हामीले गम्भीररुपले लिएका छौं। किनभने हामी खुला परिवेशमा छौं । जनतामा जानुपर्छ । जनताले उठाएको कुरालाई हामी गम्भीर रुपमा लिन्छौं ।’

प्रतिक्रिया

One thought on “पार्टीमा बहस- प्रचण्ड आफैं माओवादीमा नेतृत्व विकासको बाधक !

  1. माओवादी पार्टी प्रचण्डकाे १००% शेयर लगानी भएकाे प्राईभेट कम्पनि हाे । अरू याे कम्पनिका जागिरे । मालिकले जे लगायाे त्यहि काम गरिदिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर