तरकारी खेतको टहरोमा महिलाको शव- पहिचान खुल्यो, २ दिनअघि हत्या भएको आशंका – Nepal Press

तरकारी खेतको टहरोमा महिलाको शव- पहिचान खुल्यो, २ दिनअघि हत्या भएको आशंका

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ।

भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले काभ्रेको नमोबुद्ध-९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको शव भएको जानकारी दिए। मृतकका श्रीमानले उनको सनाखत गरेका हुन्।

तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए। मृतकको घाँटी अगाडि गहिरो चोट छ। शरिरका अन्य विभिन्न भागमा पनि चोट रहेको डीएसपी पाण्डेले जानकारी दिए।

प्रहरीले आइतबार बिहानको समयमा नगरकोटीको हत्या भएको हुन सक्ने आशंका गरेको छ। ‘शव भएको स्थान एकान्त भएकाले दुई दिनसम्म कसैले चाल पाएका रहेनछन्’, पाण्डेले भने। प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानमा उनका श्रीमानले आफु शनिबार काभ्रे गएको र सोमबार साँझ मात्र कोठा आएको बताएका छन्। महिलाको शव भेटिएको जानकारी पाएपछि ती व्यक्ति प्रहरी सम्पर्कमा पुगेको जनाइएको छ। नगरकोटीका ५ वर्षीय छोरा छन्। उनी मामाघरमा बस्दै आएको प्रहरीले जनाएको छ।

‘घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ’, पाण्डेले भने। मृतकका श्रीमान ज्यालामजदुरी काम गर्दै आएका छन्। मृतक भने गृहणी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर