महिला अधिकार सुनिश्चित गर्न सबैको प्रतिबद्धता आवश्यक : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

महिला अधिकार सुनिश्चित गर्न सबैको प्रतिबद्धता आवश्यक : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्बद्ध पक्षको प्रतिबद्धतामा जोड दिएका हुन् ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धी हक प्रदान गरिएको बताए । देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैले पहलकदमी लिनुपर्ने बताए ।

‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । राज्यको सबै निकायहरूमा महिलाहरुको समानुपातिक, समावेशीतालाई सुनिश्चित गरेको छ’, प्रधानमन्त्रीले भने, ‘महिलाविरुद्ध हुने कुनै पनि विषयको हिंसात्मक कार्य, शोषणलाई दण्डनीय बनाएको छ । देशको मुल कानूनले गरेको समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शून्य सहनशीलताको नीति अपनाइ सरकारले काम गरिरहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर