एमाले प्रवेश गर्न लागेपछि रंगेलीका मेयर माओवादीबाट निष्कासित – Nepal Press

एमाले प्रवेश गर्न लागेपछि रंगेलीका मेयर माओवादीबाट निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिप कुमार अग्रवाललाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रदेश १ समिति अध्यक्ष हर्कवहादुर नेम्वाङले विज्ञप्तिमार्फत अग्रवाललाई २०७८ फागुन १५ बाट लागु हुने गरी साधारण सदस्यबाट समेत निष्कासन गरिएको जनाएका छन् ।

अग्रवाल बुधबार नेकपा एमालेमा प्रवेश गर्न लागेपछि फागुन १५ को मिति राखेर माओवादीले कारबाही गरेको हो । तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिएका थिए ।

माओवादीले नेकपा विभाजनदेखिनै उनले पार्टीविरुद्ध गतिविधि गरेको र सम्झाइ बुझाइ गर्दा पनि नभएको जनाएको छ । रंगेलीको मेयर निर्वाचित हुनुअघि अग्रवाल राजनीतिमा सक्रिय थिएनन् ।

उनी सो क्षेत्रका लोकप्रिय व्यवसायी भएकाले चुनाव जितेका थिए । यसैबीच अग्रवाललाई एमालेमा स्वागत गर्न बुधवार अध्यक्ष केपी शर्मा ओली विराटनगर जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर