कोका-कोलाले १ हजार महिला व्यवसायीहरुलाई ‘सक्षम’ तालिम दिने – Nepal Press

कोका-कोलाले १ हजार महिला व्यवसायीहरुलाई ‘सक्षम’ तालिम दिने

काठमाडौँ । कोका–कोलाले महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ ।

यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ ।

यो कार्यक्रमले महिलाहरुलाई ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्‍याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी विश्वास गर्छौ कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । महिला सशक्तिकरणसम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियानअन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १ हजार महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनु हुन्छ । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ । यो कार्यक्रम मार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर