रामकोट घटनाको ‘सुसाइड नोट’ : पहिल्यैदेखि नै थियो आत्महत्या योजना – Nepal Press

रामकोट घटनाको ‘सुसाइड नोट’ : पहिल्यैदेखि नै थियो आत्महत्या योजना

काठमाडौं । काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले सामूहिक आत्महत्याको प्रयास गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’ मा आत्महत्याको प्रयासको कारण चरम आर्थिक संकट र स्वास्थ्य समस्या रहेको पाइएको प्रहरीको भनाइ छ ।

रामकोटमा सोमबार बेलुका साढे ९ बजे फ्ल्याट भाडामा लिएर बस्दै आएका एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । उपचाररत् ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा रामकोटमा डेरा सरेका थिए । उनीहरू फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनीहरूको कोठामा विषका बट्टाहरू भेटिएका छन् ।

भीममानले लेखेको सुसाइड नोट करिब १८/१९ पानाको रहेको एसएसपी गिरीले बताए ।

‘सुसाइड नोट डायरी जस्तो छ । विभिन्न मितिमा र हिजो पनि लेखेजस्तो देखिन्छ’, गिरीले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६२ वर्षीय इन्दिरामाया क्यान्सरको बिरामी रहेको तथा भीममान र सुवर्णमानले मानसिक समस्याको औषधी सेवन गरिरहेको पाइएको छ । औषधि-उपचारका क्रममा परिवार आर्थिक संकटमा परेको हुन सक्ने प्रहरी प्रारम्भिक अनुमान छ ।

मृतक सुवर्णमान, भीमामानका दाइका छोरा हुन् । प्रहरीका अनुसार भीममानकी श्रीमती इन्दिराले सहकारीमा कलेक्टरको काम गर्ने गरेको भए पनि समयमा तलब नपाउने गरेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर