टोपबहादुर भन्छन्- महागठबन्धनसँग एमाले एक्लै भिड्न तयार – Nepal Press

टोपबहादुर भन्छन्- महागठबन्धनसँग एमाले एक्लै भिड्न तयार

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामर्र्थ कुनै राजनीतिक दलमा नभएकाले गठबन्धनको फेरो समाउनुपरेको बताएका छन् ।

केही राजनीतिक दलहरु अनेक बहानामा चुनाव टार्न र सार्न खोजिरहेको उनले बताए ।

उनले भने, ‘नेकपा एमालेप्रति जनताले देखाएको माया, बलियो संगठन र अनुशासित कार्यकर्तासँग तर्सिएका केही दलका नेताहरु अनेक बहानामा चुनाव टार्ने र सार्ने बहाना बनाएका छन्, महागठबन्धनको डोरी बनाएका छन् तर त्यो डोरी कतिबेला चुँडिन्छ भन्ने होस छैन’, उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड, माधव समूह कांग्रेसको शरणमा गएको भन्दै उनले परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए ।

उनले वर्तमान सरकार स्वार्थ समूहको झुण्ड भएको आरोप लगाउँदै भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारमा इतिहासमा सबैभन्दा बढी विकास निर्माणका काम भएको थियो, ती विकास निर्माणका कामलाई वर्तमान सरकारले निरन्तरता नदिएर देशलाई पछाडि पारेको छ, यो सबैलाई प्रष्ट छ, म जिल्लाको विकास निर्माणमा सरकारमा रहँदा वा नरहँदा खटिरहेको छु, विकास निर्माण समृद्धिलाई पहिलो प्राथमिकताका साथ काम गरेको छु ।’

नेता रायमाझीले वर्तमान सरकारले चुनाव गराएमा नेकपा एमाले एक्लै भिड्न तयार रहेको बताउँदै एमसीसी व्याख्यातत्मक भनेपनि त्यसको कुनै अर्थ नरहेको बताए ।

रायमाझीले सभामुख राजनीतिक दलभन्दा माथि उठेर जनताको पक्षमा काम गर्नुपर्नेमा पार्टीको नीतिमा अल्झनु मुलुकको लागि दुर्भाग्य भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर