अवकाश पूर्व घरविदा बस्लान् त आईजीपी थापा ? – Nepal Press

अवकाश पूर्व घरविदा बस्लान् त आईजीपी थापा ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले आगामी बैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

२०७७ असार २५ गते थापाले नेपाल प्रहरीको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए । आगामी बैशाख १८ गते आईजिपी थापासँगै उनका इन्सपेक्टर ब्याजीहरुले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने छन् । एआईजीहरु हरि पाल, निरज शाही र प्रधुम्न कार्की पनि विदा हुनेछन् ।

थापापछि नेपाल प्रहरीको प्रमुख को हुने छ भन्ने पछिल्ला घटनाक्रमहरुले अन्योल बढाएको छ । सरकारले एआईजीका तीनवटा दरबन्दी थपेसँगै भावी आईजीपीमा चलखेल बढेको हो ।

तत्काल ती दरबन्दीमा बढुवा गरिए आईजीपीका आकांक्षीको संख्या बढ्ने छ, यदी वर्तमान एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापाकै ब्याचीहरुले ‘प्रमोसन’ पाए ।

प्रहरी नियमावलीमा उपलब्ध एआईजीहरुमध्येबाट आईजीपीमा बढुवा गरिने व्यवस्था छ । एआईजीमा पोखरेल, थापाभन्दा करिब ८ महिना सिनियर हुन् ।

संगठनमा ज्येष्ठता र वरिष्ठता दुवैको अधिक महत्व रहने भन्दै आफू निर्विकल्प रहेको पोखरेलको बुझाई छ ।

तर एउटै मितिमा जागिर सुरु गरेको र एआईजीमा पनि करिब १० महिना रहिसकेकाले आफु पनि आईजीपीको समान दावेदार भएको थापाले निकटस्थहरुसँग बताउने गरेका छन् ।

सरकारले आफ्नो रुची र अनुकुलताअनुसार आईजीपी नियुक्त गर्ने भन्दै सबै एआईजीहरु बराबर दावेदार भएको उनको बुझाई छ । एआईजीमा यदी बढुवा भए उनीहरुका ब्याचीले पनि यही तर्क गर्ने निश्चित छ ।

थापाले आफ्नो भूमिकालाई कुन रुपमा प्रस्तुत गर्नेछन, प्रतिक्षाको विषय बनेको छ । उनी अवकाश पूर्व घर विदा बसे, भावी संगठन प्रमुखबारे उनको ‘लाइन’ स्पष्ट हुने छ । नेपाली सेनामा प्रधान सेनापतीले अवकाश पाउनु पूर्व एक महिनाअघिदेखि घर विदा बस्ने चलन रहेपनि नेपाल प्रहरीमा भने त्यस्तो देखिँदैन। अन्तिम दिनसम्म कार्यालय आउन, शिलान्यास गर्नमा आईजीपीहरु व्यस्त देखिन्छन् ।

आईजीपी घर विदा बसे उनले कुनै एआईजीलाई निमित्त आईजिपीको जिम्मेवारी दिनुपर्ने छ । अवकाशको पूर्व सन्ध्यामा उनले त्यो जिम्मेवारी कसलाई दिन्छन् भन्ने महत्वपूर्ण हुने छ । स्रोतका अनुसार आईजिपी थापा विगतको परम्परा तोड्दै घर विदा बस्ने मनस्थितीमा छन् । स्रोतका अनुसार बैशाखको पहिलो सातादेखि घर विदा बस्ने उनको तयारी छ ।

उनकै ब्याचीहरु पनि एआईजी रहेपनि स्थानीय निर्वाचनको पूर्व सन्ध्या रहने भएकाले उनले भावी आईजीपीकै प्रत्यासीलाई निमित्तको जिम्मेवारी दिन सक्ने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। ‘निर्वाचन मुखैमा पर्ने भएकाले नयाँ संगठन प्रमुखलाई तयारी गर्न पनि उनी विदा बस्ने सम्भावना बलियो छ’, स्रोत भन्छ, ‘यदी भावी प्रमुखका दावेदारले निमित्त पाए उनका ब्याची एआईजीहरु पनि विदा बस्न सक्नेछन् ।’

निमित्त आईजीपीको जिम्मेवारी दिने विषयमा वर्तमान आईजीपी थापा विवादमुक्त भने छैनन् । उनले विदेश भ्रमणका बेला सिनियर एआईजीलाई छाडेर जुनियर एआईजीलाई निमित्तको जिम्मेवारी दिएका थिए । पहिलो नम्बरका एआईजी हरि पाल रहेपनि प्रधुम्न कार्की र निरज शाहीलाई निमित्त संगठन प्रमुखको जिम्मेवार दिइएको थियो ।

प्रहरी प्रधान कार्यालयकै के‍ही उच्च अधिकारी हरि पालसँग चिसिएको सम्बन्धका कारण गृह मन्त्री बालकृष्ण खाणको दबाबमा थापाले वरियतामा जुनियर एआईजीलाई निमित्त प्रमुखको जिम्मेवारी दिन बाध्य भएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *