लुम्बिनी प्रदेश : मूल्य श्रृंखला परियोजना ‘भिटा’ कार्यान्वयनमा – Nepal Press

लुम्बिनी प्रदेश : मूल्य श्रृंखला परियोजना ‘भिटा’ कार्यान्वयनमा

रुपन्देही । कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) लुम्बिनी प्रदेशमा कार्यान्वयन हुने भएको छ । ६ वर्षसम्म चल्ने यो कार्यक्रमका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र आईएफएडीबीच २०७८ असोजमा सम्झौता भएको थियो ।

लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष’ (आईएफएडीे) ले करीब १० अर्ब रुपैयाँ ९८० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बैकुण्ठ अधिकारीले परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो की भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई प्रष्ट पार्ने अवसर पाएको विश्वास व्यक्त गरे ।

कृषि विकास बैंकका उप-महाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमले बजारको मागमा आधारित कृषि वस्तुको व्यावसायीकरणमार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण र प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको बताए ।

कार्यक्रमबाट प्रत्यक्ष रूपमा १ लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार हुने थापाले बताए ।

दातृ निकाय आईएफएडीबाट आवासीय निर्देशक रोशन कुकले आईएफएडी र नेपाल सरकारले विगत ४ दशकदेखि सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागू भएका विभिन्न आयोजनामध्ये भिटा सबैभन्दा ठूलो आयोजना रहेको बताए ।

त्यस्तै इनभेष्ट इन्भेष्टमेन्ट, नेदरल्याण्डका प्रतिनिधि रोबिन बुस्टेडले भिटासँगको सहकार्यमा बुटवल उपमहानगरपालिका १५ र १६ मा निर्माण हुने सेमलार बहुउद्धेशीय एकीकृत कृषि थोक बजारको गुरुयोजनाको बारेमा संक्षिप्त जानकारी दिए ।

कार्यक्रममा आईएफएडी परामर्शदाता श्यामबहादुर खड्का, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेल लगायतले शुभकामना यो विषयमा सहभागीलाई प्रष्टाएका थिए ।

बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले दातृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सहि ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने र यसबाट अधिकांस किसान लाभान्वित हुने बताए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरि तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणा अनुसार नै लगानी गर्ने बताए ।

कृषि लगानीका लागि अगुवा बैंकको रुपमा अघि सारेको कृषि विकास बैंकलाई यो कार्यक्रमको लागि ६ वर्षमा करीब १० अर्ब रुपैयाँ उपलब्ध हुनेछ ।

भिटा कार्यक्रमले लुम्बिनी, बागमती र मधेस प्रदेशका २८ जिल्लामा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको हो ।


प्रतिक्रिया

One thought on “लुम्बिनी प्रदेश : मूल्य श्रृंखला परियोजना ‘भिटा’ कार्यान्वयनमा

  1. अति राम्रो काम तर सो योजना को लाभ सर्वसाधारण कृषकले कसरी लिने जानकारी गराईदिए आभारी हुने थिएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर