लुम्बिनीमा विश्वविद्यालय सार्ने विवाद : सत्तारुढ गठबन्धनकै दलहरु आन्दोलित – Nepal Press

लुम्बिनीमा विश्वविद्यालय सार्ने विवाद : सत्तारुढ गठबन्धनकै दलहरु आन्दोलित

रुपन्देही । बाँकेको खजुरामा स्थापना गर्ने भनिएको विश्वविद्यालय अन्यत्र सार्न खोजिएपछि बाँकेका राजनीतिक दलहरु एकजुट भएका छन् ।

यसअघिको सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश विश्वविद्यालय मुख्यमन्त्री कुलप्रसाद केसी तथा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको योजनामा अन्यत्र सार्न खोजेको भन्दै एकजुट भएका हुन् ।

बाँकेमा विश्वविद्यालय स्थापना गर्न स्थानीय सरकारले जग्गा व्यवस्थापन गरिसकेको, यसअघिको सरकारले बजेट विनियोजन गरिसकेको भएपनि एकाएक सार्न खोजिएपछि बाँकेबाट निर्वाचित प्रदेश संसद र बाहिर दुबै ठाउँमा संघर्ष गर्न बाँकेबासी एक भएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा नेपालगन्जमा बसेको बैठकले पूर्वमन्त्री तथा प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति नै घोषणा गरेका छन् । पौडेल एमालेबाट निर्वाचित सांसद हुन् ।

माओवादी नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्रीको निर्णयविरुद्ध गठबन्धनमा रहेको दलहरु नै आन्दोलित भएका हुन् ।

यो आन्दोलनमा बाँके र बर्दियाका प्रदेश सांसद, जिल्ला समन्वय समितिका संयोजक, बाँकेका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्षहरु, पेशागत संघसंगठनका छाता संगठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।

बैठकको शुरुमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म विश्वविद्यालय स्थापनाका लागि गरिएका प्रयासबारे बैठकमा राखेका थिए । विश्व विद्यालयका लागि एक सय बिगाह जमिन कानूनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो ।

त्यसका लागि पालिकाले खजुरा गाउँपालिका वडानम्बर ८ रनियापुरमा एकसय बिगाह जमिन नापी गराई प्रदेश बिश्व बिद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नंम्बर ८ मा सर्वपक्षीय छलफल र निर्णय गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको एमाले बाँके अध्यक्ष तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । प्रादेशिक विश्वविद्यालयका सन्दर्भमा बाँके र बर्दियास्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला निकायसंग सर्वपक्षीय बैठक गरिएको हो ।

बैठकमा प्रदेश सांसद आरती पौडेल, बाबुराम गौतम, मोहम्मद याकुव अन्सारी, नेकपा एमालेका केन्द्रीय सदस्य दीपा शर्मा, पशुपतिदयाल मिश्र, नागरिक अगुवा सनत रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले विश्वविद्यालयको सवालमा आफूहरु एक ठाउँमा रहेको बताएका थिए ।

विश्व विद्यालयका लागि खजुरा गाउँपालिकाले गर्नुपर्ने सबै प्रकृया पूरा गरेरै अगाडि बढाइएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले बाँकेबासीलाई चिन्तित बनाउँदा बाँकेबासी संघर्षमा उत्रिएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर