युट्यूव च्यानल दर्ता गर्न ५ लाख कि एक करोड ? – Nepal Press

युट्यूव च्यानल दर्ता गर्न ५ लाख कि एक करोड ?

काठमाडौं । एउटा इमेल अकाउन्टका भरमा युट्यूव च्यानल खोलेर आफूलाई मिडिया भन्दै हिँड्ने युट्यूवरका लागि आगामी दिन असहज हुन सक्ने देखिएको छ ।

उनीहरूलाई समेत नियमनको दायरामा ल्याउन सक्नेगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली लागू गरेपछि युट्यूवर आत्तिएका छन् ।

संशोधित नियमावलीले पहिलोपटक ओटीटी/भीओडी र अनलाइन टिभीलाई सम्बोधन गरेको हो । यसमा ‘युट्यूव च्यानल’ भने कतै उल्लेख छैन । तर, नियमावलीमा गरिएको ओटीटीको परिभाषा र अनलाइन टिभीको परिभाषा दुवैले युट्यूवलाई समेट्न सक्छ ।

ओटीटीको परिभाषा यसरी गरिएको छः

ओटीटी भन्नाले उपभोक्ताको मागबमोजिमको कुनै कार्यक्रम डीटीएच केबल वा उपग्रह टेलिजिनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवा सम्झिनुपर्छ र सो शब्दले इन्टरनेटमार्फत अरु प्लेटफर्ममाथिको मिडिया स्ट्रिमिङ सेवासमेतलाई जनाउँछ ।

‘इन्टरनेटमार्फत अरु प्लेटफर्ममाथिको मिडिया स्ट्रिमिङ सेवा’ भनिसकेपछि यसले स्वतः युट्यूव च्यानललाई समेट्ने देखिन्छ । यसर्थ नियमावलीले युट्यूवलाई पनि ओटीटीकै रुपमा हेरेको निष्कर्षमा पुग्न सकिन्छ । र, यदि ओटीटीकै कानून आकर्षित भयो भने युट्यूव च्यानल सञ्चालनका लागि १ करोड तिरेर इजाजतपत्र लिनुपर्नेछ ।

तर, अनलाइन टिभीको परिभाषा पनि युट्यूव च्यानलसँग मिल्ने खालको छ ।

यसमा भनिएको छ, ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत आफैंले उत्पादन गरी नियमितरुपमा श्रव्य दृष्य र्काक्रम प्रसारण गर्ने कार्य सम्झिुपर्छ ।’

युरोपियन टेलिकम्युनिकेसन्स स्टाण्डर्ड इन्स्टिच्यूटले आईपीटीभी र ओटीटीको फरक छुट्याएको थियो । उक्त रिपोर्टले पनि युट्यूव च्यानलको प्रकृति ओटीटीसँग मिल्दोजुल्दो देखिन्छ ।

यदि यो परिभाषाभित्र समेट्ने हो भने इजाजतपत्रका लागि ५ लाख रुपैया तिरे पुग्नेछ ।

अहिले कतिपयले चाहिँ यी दुवै परिभाषाले युट्यूवरलाई नसमेट्न तर्क गरेर युट्युव च्यानलका लागि यो कानून नरहेको पनि बताउन थालेका छन् ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले युट्यूवलाई अनुगमन गर्न बाटो खुलेको बताए ।

उनले भने, ‘अनलाइनमार्फत नियमित कार्यक्रम प्रसारण भयो भने त्यो अनलाइन टेलिभिजन हुन्छ । त्यसैले नियमन गर्न वाधा छैन ।’
युट्यूवलाई कसरी हेर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर