गृहमन्त्री खाणसँग महिला सांसदको माग- पल शाह प्रकरणमा पीडित बालिकामाथी बढी प्रहार भयो, रोक्नुस् – Nepal Press

गृहमन्त्री खाणसँग महिला सांसदको माग- पल शाह प्रकरणमा पीडित बालिकामाथी बढी प्रहार भयो, रोक्नुस्

काठमाडौं । विभिन्न राजनीतिक दलका महिला सांसदहरुले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पल शाह प्रकरणमा पीडित भनिएकी बालिकामाथी बढी प्रहार भइरहेको भन्दै रोक्न माग गरेका छन्।

उनिहरुले स्थानीय निर्वाचनमा महिला उमेदवारको कोटा बढाउन पनि माग गरेका छन् । महिला सांसदको टोलीमा पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठ थिए ।

उनिहरुले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउनु पर्ने माग राखे ।

महिलाको मौलिक हक समेटिएको संविधानको धारा-३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरुको थियो ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्टयाउनु पर्ने माग गरिन् । वडा अध्यक्षहरूमा महिलाको संख्या कम रहेको भन्दै बढाउने पहल पनि सरकारबाट हुनु पर्ने उनको भनाई थियो ।

त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन महिला सांसदहरुले माग गरेका छन् ।

गृहमन्त्री खाणले महिला सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर