पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडिओ) – Nepal Press

पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडिओ)

काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।

बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिए । पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताउनु भयो । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान शुरु गरेको छ ।

स्टेशन म्यानेजर बरालले भने,‘आजबाट हामीले पोखराबाट जनकपुरमा फ्लाइट शुरु ग¥यौं । अब हामीले निकट भविष्यमा विराटनगर र भद्रपुर शुरु गर्दैछौँ । अहिले सामान्यतया प्यासेन्जर फ्लो धेरै राम्रो छ । अधिकांश प्यासेन्जर नेपाली नै छन् । विदेशीहरु आएको अवस्था छैन । काेभिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ । कोभिड भन्दा अगाडिको स्थितिमा आइसकेको छ । बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ । धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्दछौँ । सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ । १२ सय जना प्यासेन्जर हुन्छन् ।’

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ ।

पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए । बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर