एमबाप्पेबिनाको पीएसजी प्रभावहीन, रियल म्याड्रिडविरुद्ध लयमा फर्केलान् मेस्सी ? – Nepal Press

एमबाप्पेबिनाको पीएसजी प्रभावहीन, रियल म्याड्रिडविरुद्ध लयमा फर्केलान् मेस्सी ?

पेरिस । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडसँग भिड्नुअघि पेरिस सेन्ट जर्मन–पीएसजीले घरेलु लिगको खेलमा शनिबार राति निससँग हार व्यहोर्यो ।

लिग वानको यो सिजन निकटतम प्रतिद्वन्द्वी निससँग पीएसजीले १–० गोलको हार व्यहोर्यो । हारका बाबजुद पनि पीएसजी उपाधि होडमा बलियो छ ।

२७ खेलको समाप्तीमा पीएसजी दोस्रो स्थानमा रहेको निसभन्दा १३ अंकले अगाडि छ । तर पीएसजीको पछिल्लो लय उसका लागि च्याम्पियन्स लिग भिडन्तअघि टाउको दुखाइ बनेको छ । उसले पछिल्ला तीनमध्ये दुई खेलमा हार व्यहोरेको छ ।

फेब्रअरी १८ मा भएको खेलमा पीएसजी, विपक्षी मैदानमा नान्टेससँग ३–१ गोलले पराजित भएको थियो । लियोनल मेस्सी र नेमारजस्ता खेलाडीहरु टोलीमा रहे पनि पीएसजीको सफलतामा केलियन एमबाप्पे मात्र निर्णायक बनिरहेका छन् ।

एमबाप्पेबिनाको पीएसजी प्रभावहीन देखिएको छ । शनिबार निसविरुद्ध एमबाप्पे टोलीमा थिएनन् । कार्डका कारण उनले खेल गुमाएका हुन् । एमबाप्पेले यो सिजन घरेलु लिगमा १४ गोल गरेका छन् भने १० गोलमा उनको असिस्ट रहेको छ । लिग वानको यो सिजन उनी सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रोमा छन् । मोनाकोका बेन येदरको नाममा १५ गोल र ४ असिस्ट छ ।

मेस्सीले २ गोल र १० असिस्ट गरेका छन् । उनले घरेलु लिगमा यो सिजन १७ खेल खेलेका छन् । चोटसँग जुधिरहेका नेमारले घरेलु लिगमा यो सिजन १३ खेल खेल्दै ४ गोल गरेका छन् । उनले पीएसजीका लगातार १३ खेल गुमाएका थिए ।

मेस्सीले ५ खेल यता गोल गर्न सकेका छैनन् । एमबाप्पेले पछिल्ला पाँचमध्ये ४ खेलमा गोल गरेका छन् । नेमारले चोटबाट फर्किएको पहिलो खेलमा असिस्ट र दोस्रो खेलमा गोल गरेपनि पछिल्ला दुई खेलमा भने गोलविहीन छन् ।

यसै सिजनको सुरुवातमा पीएसजीले मेस्सीलाई भित्र्याएपछि फ्रेन्च क्लबले अग्रपंक्तिमा विश्वकै सशक्त लाइन–अप पाएको भनेर चर्चा सुरु भएको थियो । तर मेस्सी–एमबाप्पे–नेमारले त्यसलाई पुष्टि गर्न सकिरहेका छैनन् । जित हात पारेका खेलमा पनि उनीहरुको गोलअन्तर त्यति फराकिलो छैन ।

पीएसजी केही वर्षयता घरेलु लिगमा भन्दा च्याम्पियन्स लिग नै जित्ने लक्ष्यसहित अगाडि बढिरहेको छ । यो सिजन पनि प्रिक्वाटरफाइनल पुगिसकेको पीएसजीले दोस्रो लेगमा बुधबार सर्वाधिक विजेता रियल म्याड्रिडसँग खेल्दै छ ।

पहिलो लेगमा १–० गोलको जित हात पारेको पीएसजीले रियल म्याड्रिडको मैदानमा हुने आगामी खेलमा केही एड्भान्टेज हुनेछ । उसले रियल म्याड्रिडको मैदानमा कम्तिमा एक गोल गरेमा, एक गोलअन्तरले पराजित भएपनि क्वाटरफाइनल पुग्नेछ । च्याम्पियन्स लिगमा यो सिजन एमबाप्पेले ५ गोल र ४ असिस्ट र मेस्सीले ५ गोल गरेका छन् ।

नेमारले भने गोल गर्न सकेका छैनन् । रियल म्याड्रिडसँगको पहिलो लिगमा मेस्सी पेनाल्टीमा चुकेका थिए । दोस्रो हाफको इन्जुरी समयमा नेमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको उद्धार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर