लुम्बिनीमा सबैभन्दा धेरै मानव अधिकार हनन, एक हजारभन्दा बढी घटना दर्ता – Nepal Press

लुम्बिनीमा सबैभन्दा धेरै मानव अधिकार हनन, एक हजारभन्दा बढी घटना दर्ता

रुपन्देही । लुम्बिनी मानव अधिकार हननका हिसाबले सबैभन्दा बढी घटना दर्ता भएको प्रदेशका रुपमा देखिएको छ ।

इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ घटनाहरु पीडितहरुले दर्ता गरेको देखिएको हो । अपहरण, गिरफ्तारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानवीय व्यवहार, घाइते, हत्या, जातीय विभेद, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८६ घटनाहरु दर्ता छन् । जुन २९ प्रतिशत हुन आउँछ ।

यसैगरी प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हननका घटना दर्ता भएका छन् । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उल्लंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडि रहेको भन्दै रिपोर्टको संख्या बढ्नु भनेको आमनागरिकमा सचेतना बढेकालाय यस्तो भएको तर्क गर्छन् । प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनीय रहेको उनले बताए ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम इन्सेकको तथ्यांकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय अध्यक्ष गोविन्द खनालले मानव अधिकारको परिभाषालाई फरक ढंगबाट समाजमा बुझने काम भएको भन्दै ब्यवहारमा बुझाउन नसकिएको दाबी गरे । हिंसाको राजनीति गरिरहेका दलहरुका कारण मानव अधिकार धरापमा रहेको उनको गुनासो छ । घर शान्ति, समाज शान्ति हुँदै देश र विश्व शान्तिको अभियानमा लाग्नुपर्ने उनले सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर