सेतो हात्ती पाल्न नसक्ने भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश – Nepal Press

सेतो हात्ती पाल्न नसक्ने भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

चौतारा । नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गरेका छन् ।

एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो ।

एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।

सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहेका थिए ।

माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो ।

पार्टी प्रवेश गर्दै वडा अध्यक्ष तामाङले कांग्रेस सिन्धुपाल्चोकमा कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको कार्यशैलीका कारण आफूले पार्टी परित्याग गरेको बताए ।

‘मैले सेतो हात्ती लाई ४० बर्स सम्म पालेँ, अब पाल्न नस्क्ने भएँ, तामाङले भने, ‘कांग्रेस भित्र सेतो हात्तीका कारण अब धेरैले बिद्रोह गर्छन् ।’

कांग्रेस र बस्नेतलाई सुख दु:खमा साथ दिए पनि आफूलाइ सधैं अपमानित गरेको तामाङले बताए । वडा अध्यक्ष तामाङ सहित कांग्रेसका दुई सयबढी नेता कार्यकर्ता एमाले प्रबेश गरेको बाह्रबिसे इन्चार्ज समेत रहेकी एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी उपसचिवसुशीला पाख्रिनले दावी गरिन् ।

आफू कुनै पदको लोभमा एमाले प्रबेश नगरेको बरु आत्मसम्मान को लागि एमाले प्रवेश गरेको उनले बताए । अब फेरि पनि बाह्रबिसे नगरपालिकामा एमाले जित्ने उनको दाबी छ ।

‘२०७४ मा अल्पमत सहित जितेको थियोे ,अब बहुमत सहित जित्ने छ’ तामाङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर