प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

चुनावमा कांग्रेस एक्लै लड्छ,चमेरालाई कानमा ओत दिएर हामीलाई फाइदा छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरु भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ दिएनन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

  1. अनुपम दृष्टान्त! दाइ।
    काङग्रेसी आवरणमा “चमेराहरु”लाई गजराजकाे कानमा राज गराउने र राज्याभिषेक गर्न लगाउने राजनीतिक अपराधी छद्मभेषीहरुलाई बेलैमा पहिचान गरी अनुशासनकाे कार्वाही गरेर कांग्रेसी गजराजलाई जीवन्त बनाउनुहुन हार्दिक अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर