मायावी सहरमा फसेको कवि – Nepal Press

मायावी सहरमा फसेको कवि

केही वर्षअघिसम्म कविहरु उपन्यासमा फड्को मार्ने लहरै चलेको थियो । त्यही लहरमा एउटा हल्ला आयो, ‘कवि राबतले उपन्यास लेखिरहेका छन् ।’

यो हल्ला हाल्ला मात्रै थिएन, सत्य थियो । लेख्न सुरु गरेका थिए । यम्बुरी बुक्सबाट अग्रीम भुक्तानी पनि बुझिसकेका थिए, एक लाख । तर, एक लाख लिएको छ वर्षपछि लाखपटक लेखिँदा पनि राबतको पाण्डुलिपी तयार हुन सकेन । बरु खाका तयार भएको उपन्यास तीन टुक्राहरुमा विभाजित भयो ।

अहिले राबतलाई लाग्छ, ‘अब त्यो उपन्यासबाट तीनवटा जति कथा झिकिएला कि !’

उपन्यासको ‘कन्सेप्ट’ तयार गरेका थिए । प्लटहरु डायरीमा रेखामा उतारेका थिए । तर, रेखाको अन्तिमतिर सदाको लागि विन्दु लाग्यो, पूर्णविराम लाग्यो ।

उपन्यासका लागि अफिसमा २० दिनको बिदा मागेका थिए । गाउँको कथा थियो, गाउँ जानुपर्ने थियो । तर, बिदा स्वीकृत भएन ।

‘कविता, गीत लेखेजस्तो नहुँदो रहेछ । एक वर्षमा सकिएला कि भनेर हिम्मत जुटाएको थिएँ,’ गम्भीर भएर बोलेपछि फिस्स हाँस्दै ०७२ सालको प्रसंग सुनाउँछन्, ‘अल्छे गोरु टाइपको परियो । पछाडि पुच्छर निमोठेपछि हिँड्ने टाइपको परियो । कुन दिन प्रकाशक ब्याज सहित एड्भान्स लिन आयो भने तनाव छ ।’

राबतले काठमाडौं, बेसीँगाउँको डेरामा बसेर गाउँको कथा बाउआमाबाट सुने । तर, गाउँ नपुगी उपन्यासमा सास भरिनेवाला थिए । गाउँ जाने बाटो जागिरले रोकिदियो, उपन्यास लासमा परिणत भयो ।

राबतकै शब्दमा, ‘उपन्यासको भ्रूण हत्या भयो ।’

०००

राबतको चर्चित कवितासंग्रह छ, ‘राजधानी मास्तिरको राजधानी ।’

संग्रहमा जम्माजम्मी २५ कविता छन् । लेखनमा राबत सुस्त छन्, उनी आफैं स्वीकार्छन् । संग्रहका कविता पनि दश वर्षको अन्तरालमा लेखिभ्याएका थिए । किताब नै निकाल्ने प्रसंग सुरु भएपछि कनिकुथी पनि लेखेका थिए ।

‘कविता धेरै थिएन, किताबै निकाल्ने भएपछि किताबको साइजमा त हुनुपर्‍यो । प्रकाशकले पनि हौसला दियो,‘ राबत भन्छन्, ‘नत्र त पहिलादेखि नै स्लो हो म । धुइँधुइँती लेख्न नसक्ने । कसैले डेडलाइन दिएर, समय तोकेर, योजना बनाएर कहिल्यै लेखिएन । मेरो जिन्दगी पनि कुनै योजनामा भएन, लेखन जस्तै भयो, अनप्लान्ड !’

लेखन मात्रै ‘अनप्लान्ड’ होइन, जीवन पनि त्यस्तै छ राबतको । उमेरले ४० छुन लागिसके । वैवाहिक जीवन, घरगृहस्थीको कुनै गुन्जायस अथवा लक्षण छैन ।

उनको दाबी छ, ‘विवाह मेरो अवधारणामै परेन कहिल्यै । मेरो सेड्युल नै भएन त्यो ।’

जीवनलाई एक खालको लयमा राख्नेबारे अधिकांश मानिस सोच्छन् ।

राबतको प्रश्न छ, ‘मान्छेले जे सोच्छन्, त्यही किन गर्नुपर्‍यो र ! म त एकलकाँटे टाइपको, मेरो आफ्नै फिलोसोफी छ ।’

राबतका भाइको बालबच्चा भइसकेका छन् । घर परिवारमा सबैले गाली गर्छन् उनलाई । उनकी आमा भन्थिन्, ‘जेठो छोरोको बुहारी नहेरिकन जान्नँ ।’ तर, आमा पनि कराउँदा कराउँदै बितिन् ।

०००

नुवाकोटको तामाङ वस्तीमा हुर्किएका राबतको समाज यस्तो थियो, जहाँ पढ्ने संस्कृति उत्तिसाह्रो थिएन । थोरबहुत अक्षर चिनेपछि पुग्यो भनिन्थ्यो । पढेर डाक्टर, इन्जिनियर बन्ने सपना त के, सोचसम्म पनि दूरको विषय थियो ।

तर, राबत अलि तगडा विद्यार्थीमै गनिन्थे । एसएलसीपछि कलेज गएर के पढ्ने ? अन्धाधुन्ध काठमाडौं पसेर आरआर कलेज छिरे । आइए, बीए पढे ।

सँगै साहित्यप्रति पनि रस बस्दै गयो ।

‘पहिला घरमा पत्रिपत्रिका पढ्ने वातावरण थिएन । खानदानमा बीए पास मैमात्र हो । अब पो आउने पुस्तालाई थाहा हुन्छ, आर्टस्, म्यानेजमेन्ट, साइन्स के हो भनेर,’ राबत गाउँतिर फर्किएर भन्छन्, ‘घरमा कला संस्कृतिको कुरो नै हुँदैनथ्यो । काठमाडौं आएर पढ्दा पो थाहा पाइयो त !’

काठमाडौं प्रवेशपछि साहित्य बुझेका राबतले गजल लेख्न थाले । गीत, कविता लेख्न थाले । तर, समकालीन साथीभाइको तुलनामा एकदमै पातलो ।

‘पातलो त लेख्न नसकेर हो । मन त हुन्छ, खत्रा लेखूँ, लेखिरहूँ भन्ने । तर, नलेखेपछि पातलो हुन्छ,’ हाँस्दै सुनाउँछन् राबत ।

०००

लेखनमा आफूले दैनिक बाँच्ने तरीकाले पनि असर गरेको बताउँछन् । दैनिक भोगिने अभावले असर गर्‍यो, चाहेको किताब पढ्न पाएनन् । अहिले पनि त्यो समस्या यथावत् छ राबतको ।

‘पढ्ने बानी बस्यो, लेख्नेभन्दा दुईचार घण्टा किताब पढ्न पाए हुन्थ्योजस्तो लाग्छ । तर, भनेजस्तो नमिल्ने,’ राबत खुल्छन्, ‘अहिले पढ्नलाई किताब छैन् । किन्न पनि महँगो छ । कसैले किताब उपहार दिए पनि हुन्थ्यो लाग्छ ।’

राबतको लेखनलाई अभावले मात्रै होइन, जागिरले पनि उत्तिकै धक्का दियो ।

‘हामी भूइँमान्छेको जीवन हाउ टु सर्भाइभमै सकिँदो रहेछ । भनेको वेला केही गर्न नपाइने । एउटा कोठामा बसेर त कत्ति लेखिन्छ र ! आँखाले देखेको, छोएको कुरा बढी मज्जाले लेखिने हो । साँघुरो कोठामा बसेर साध्य नै नहुँदो रहेछ,’ राबतको अनुभव छ ।

राबतले लेखनका लागि २१ वर्षे जागिरे जीवन छाड्ने योजना जतिपटक बनाए, उत्तिपटक नै भत्कियो । अझैं छाड्ने मनसायमा छैनन् । भाइ बुहारी, भाइका दुई छोरी, बाउ छन् । पहिला भाइ विदेश गएकाले थोरबहुत भरथेग भएको थियो । अहिले भाइले ‘म विदेश नगइन्जेल नछोड्’ भनेका छन् ।

राबतको योजना छ, ‘भाइ विदेश गएपछि छाड्छु ।’

०००

यावत् समस्याको तामासाबीच बाँचिरहँदा पनि केही छुटेजस्तो लाग्दैन राबतलाई ।

‘छुटेको कुरा सोच्दा पनि सोच्दिनँ । पछाडि फर्केर दुःखी हुँदिनँ,’ राबत हाँस्दै भन्छन्, ‘दुःखलाई पनि मान्यो भने पो दुःख त ! नमानेपछि दुःख पनि डराउँदो रहेछ । यो त अटेरी रहेछ भनेर छाड्दो रहेछ ।’

दुःखभन्दा पर कहिलेकाहीँ भावनात्मक कुराहरुले राबतको आँखा छचल्काउँछ । आफैंले हुर्काएको भान्जाभान्जीले राम्रोसँग पढ्न नपाउँदा, उनीहरु टाढा–टाढा जाँदा रुन्छन् । तर, एक्लै रुन्छन् ।

‘म त भिडमा पनि १५ मिनेट समय मागेर रुने गर्छु । अत्ति भावुक भइन्छ कहिलेकाहीँ मदिरासँग भएको वेला,’ आफूलाई खोल्छन् राबत, ‘आँसु जैवीक कुरा हो । रोएपछि फ्रेस गराउँछ । भित्रको तुषहरु पखालिन्छ । विकारहरु फालिन्छ । मनमा लागेको बोल्न नपाउँदा गाह्रो हुन्छ । त्यो भँडास पोख्ने ठाउँ पनि हो आँसु ।’

२२÷२५ वर्षको उमेरलाई ‘योङ ब्लड’ भन्छन् राबत । त्यसवेला धेरै भावुक नहोइने अनुभव छ उनको । अब त अरुका कथाहरु पनि आफ्नैजस्तो लाग्ने बताउँछन् । भूइँमान्छेको संघर्ष, सफलताको कथा पढ्दा पनि आँसु आउने अवस्था छ राबतको ।

भन्छन्, ‘मैले विचार गरिरहेको छु, म धेरै कमजोर भएँ कि लाग्छ कहिलेकाहीँ ।’

राबतको आँसु प्रेम–सम्बन्धका कारण चाहिँ आएको रहेनछ ।

‘प्रेम जानीजानी पनि गरिएन । जानीजानी प्रेम हुने पनि होइन होला । प्रेम भइहाले पनि लाइफ ज्याकेट लगाएर प्रेममा पर्छु । पहिला सेफ हुने अनि जाने, ट्राजेडी त हुनु नै छ,’ यत्ति भनेर जोडले हाँस्छन् राबत ।

एसएलसी दिनेवेला एकजनालाई मनपराएका थिए उनले । केटीले पनि संकेत दिएकी थिइन् । एकअर्काको प्रेमलाई उजागर चाहिँ गरेनन् । ‘अनटोल्ड लभस्टोरी’ भयो राबतको त्यो ।

त्यो प्रेमको किस्सा सुनाउँछन् राबत, ‘पछि उसको बिहा भयो, निकै गाह्रो भयो । तर, त्यो पीडा पनि दुईचारमाना रक्सी खाइदिएर पचाइदिइहालेँ ।’

पछि म्युच्युर्ड हुँदै गएपछि बुझेर प्रेम भएन । अहिले त झनै उनलाई प्रेमले छुँदै छुँदैन । लामो हाँसोपछि नाडीको छाला देखाउँदै भन्छन्, ‘अहिले त मन पनि गैँडाको छालाजस्तो भयो । छिमोट्यो भने छ महिनापछि दुख्ने ।’

तर, यत्ति क्रुर भएर पनि भएन ! भोलि फेरि प्रेम हुनसक्छ । जोगी पाराले पनि प्रेम हुनसक्छ । सम्भावना अझैं छ अविवाहित भएको नाताले उनको । भोलि मैनजस्तो पग्लिएर देवदास पनि हुनसक्छन् ।

‘प्रेम गरे पनि क्रेजी भएर चाहिँ गर्दिनँ जस्तो लाग्छ । मेरो प्रेमको त जहिल्यै भ्रूण हत्या हुन्छ भन्या,’ राबत सुनाउँछन् ।

‘कतिपय प्रेमिल सम्बन्ध टुट्नुमा जीवनशैलीले पनि असर गर्‍यो होला । तपाईंलाई त मदिराप्रेमी ज्यादा भन्छन् त बजारमा ?,’ मैले सोधेँ ।

‘बजारमा हल्ला आए जस्तो मदिराप्रेमी होइन म । मेडिकल कलेजमा जागिर खानेले सधैं खान त सकिँदैन । साथीभाइसँग बस्दा एकसातासम्मै खाइदिने, अफिस पनि लगभग मिलाउने बानी थियो । त्यसले गर्दा प्रेम प्रस्ताव पनि आउँदैन । बिहेका लागि बाउआमाले दुईचार ठाउँ त लगेका थिए, तर कहिले के नमिल्ने, कहिले के नमिल्ने । तर, सातादिनसम्म मदिरा पिउनका लागि इन्टिमेसी मिल्नुपर्‍यो । कतिपय दाइसँग बस्दा किताब पढेजस्तो नै हो । पिउने त बहाना मात्रै हो नि, !’

‘मदिराले स्वास्थ्यमा असर त गर्‍यो होला ?’

‘म नियमित पिउँदिनँ । एक्लै कहिल्यै पिउँदिनँ । एकजना साथी चाहियो । बाहिरतिर ठूल्ठूला मान्छेसँग बसेर पिउन चाहिँ डर लाग्छ । ठूल्ठूला लेखकहरु, बौद्धिकहरुको नजिक नपर्न पाए हुन्थ्यो लाग्ने ! मास फोबिया टाइपको ठूला मान्छेको अघि बोल्नै नसकिने । मदिरा पिएपछि चाहिँ अलिअलि बोल्न सकिन्छ ।’

०००

राबत जोरपाटी र गोकर्णबीच बेंसीगाउँ बस्छन् । कुनाको भेग भएकाले त्यति साथीभाइसित भेट हुँदैन । पहिला साथीभाइलाई भेट्न बागबजार, भृकुटीमण्डप आइपुग्थे । त्यतै बास बस्थे । अहिले भने एक्लै बस्न मजा आउन थालेको अनुभूति छ राबतको ।

एक्लै बसेर गाउँ सम्झन्छन् । पूर्वस्मृतितिर फर्कन्छन्,– गाउँका काका–मामाको जीवनमा कुनै ‘ट्वीस्ट’ नै छैन । घट्टदेखि घर, घरदेखि घट्ट पुग्छन् । कत्तिले त नजिकैको काठमाडौं पनि देखेका छैनन् ।

‘उनीहरुले भ्रष्ट्राचार गरेनन्, पोलुसन फैलाएनन् । चराचुरुंगीजस्तो पृथ्वीमा आए, खाए, हगे, मुते, आफ्नो तालमा बाँचेर गए । हाम्रो जीवन बाँच्ने लय त आनन्द रहेछ । उनीहरुले पृथ्वीलाई हानी गरेका छैनन् कम्तीमा । अहिले त ठूलो काम गर्नु होइन, केही नगर्नु नै प्रकृतिमाथिको योगदान हो । विषादी नफैलाउनु, हर्कत नगर्नु नै ठूलो कुरा हो,’ एक प्याराग्राफ नै निरन्तर बोल्छन् राबत ।

उपन्यास लेख्ने जमर्को गर्दा राबतले गाउँलाई चुने । तर, सहरमा पनि पाइला पाइलामा कथा भएको उनको अनुभव र अनुभूतिले भन्छ । साथमा सहरमा दुःख छ, राबत स्वीकार्छन् । अनि सहरमा के रहेछ त्यस्तो जसले राबतलाई निरन्तर अल्झाइरहेको छ ?

‘हरेक सहरमा मोहनी हुन्छ । अवसर, दुःख, संघर्ष, प्राप्ति र गोल सहरमै छ । ढिँडो पिठो खाएको हामीलाई त सहरले यत्तिकै आकर्षित गरिहाल्छ ।’

‘कुनै दिन राबतले सहर छाड्ने सम्भावना कतिको छ ?’

‘सहर छाड्ने सम्भावना त जहिले पनि रहन्छ । छाड्ने योजना छैन, तर छाड्नैपरे पनि पछुतो चाहिँ हुने छैन । गाउँ जानुप¥यो भने पनि पछुतो हुन्न अब चाहिँ । तर, त्यसपछि सहरको सम्झनाले सताउँछ, जसरी अहिले गाउँको सम्झनाले सताउँछ । सहरलाई जति गाली, घृणा गरे पनि २०÷२५ वर्ष बसेको ठाउँमा प्रेमको भ्रुण जन्मिसकेको हुन्छ । छाडेर गए पनि सम्झना त आइहाल्ला नि !

धुलो धुवाँ खाने बानी भयो । जति नै दुःख भए पनि यहीँको दुःखसँग प्रेम भइसक्यो । साँघुरो गल्ली, कोठामै प्रेम भइसक्यो । पहिला घरभेटीले गाली गर्ने, मट्टितेल नहुने कोठामा फर्कन नपाए हुन्थ्यो लाग्थ्यो । अहिले त्यो कोठाको पनि सम्झना आउँछ । घृणाबाट पनि प्रेम जन्मिँदोरहेछ आखेरी । मान्छेको जातै यस्तै रहेछ, जे गरे पनि नहुने ।’

०००


प्रतिक्रिया

One thought on “मायावी सहरमा फसेको कवि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर