अलबिदा वार्न- महान लेग स्पीनर जसले ‘बल अफ सेन्चुरी’ फ्याँकेका थिए – Nepal Press

अलबिदा वार्न- महान लेग स्पीनर जसले ‘बल अफ सेन्चुरी’ फ्याँकेका थिए

मेलबर्न । वार्ने उपनामले परिचित महान क्रिकेटर सेन वार्नको अल्पायुमा निधनले विश्व खेलकुद जगत नै स्तब्ध भएको छ। ५२ वर्षीय वार्नेको थाइल्यान्डमा हृदयघातका कारण निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उनी विदा मनाउन अष्ट्रेलियाबाट परिवारसहित त्यहाँ पुगेका थिए।

१५ वर्ष अष्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट खेलेका वार्नले विश्व क्रिकेटमा लेग स्पीनको कलालाई पुर्नजीवन दिएका थिए। उनको बलिङ शैलीले हेरेर विश्व क्रिकेटमा थुप्रै लेग स्पिनरहरु जन्मिएका छन्। वार्नले टेस्ट क्रिकेटमा एक सय ४५ खेल खेल्दै ७ सय ८ विकेट लिएका थिए। उनले टेस्ट क्रिकेटमा एकै पटकमा ४८ पटक कम्तिमा ४ विकेट र ३७ पटक कम्तिमा पाँच विकेट लिएका थिए।

यसैगरी टेस्ट क्रिकेटको एकै खेलमा १० पटक कम्तिमा १० विकेट लिएका थिए। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ९४ खेल खेल्दै २ सय ९३ विकेट लिएका थिए। यसमा पनि एकै खेलमा १२ पटक कम्तिमा ४ विकेट र एकपटक कम्तिमा ५ विकेट लिएका थिए।

सन् २००७ मा अन्तर्राष्ट्रिय खेलाडी जिवनबाट सन्यास लिएपछि उनले केही समय व्यवसायिक क्रिकेट भने खेलिरहेका थिए, इन्डियन प्रिमियर लिगसहित। वार्नसँगै अष्ट्रेलियन टोलीका ग्लेन म्याग्रा, डेमियन मार्टिन र जस्टिन लेंगरले एकसाथ सन्यास लिएका थिए। त्यसपछि अष्ट्रेलियाका तत्कालिन कप्तान रिक्की पोन्टिङले अष्ट्रेलियन क्रिकेटमा एक युगको अन्त्य भएकाे बताएका थिए।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि वार्नबाट प्रभावित छन्। बल ‘टर्न’ गराउन सक्ने खुबीका कारण वार्नको निकै चर्चा हुने गरेको थियो। एसेस टेस्ट शृंखलाअन्तर्गत सन् १९९३ मा इङ्ल्यान्डका माइक गेटिङलाई आउट गर्दा वार्नले बललाई अस्वभाविक टर्न गराएका थिए। उक्त बललाई ‘बल अफ सेन्चुरी’भन्ने गरिन्छ। वार्न कुनै समय टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलर थिए। सन् २००७ मा श्रीलंकाका स्पिनर मुथ्यैया मुरलीथरनले उनको कीर्तिमान तोडेका थिए।

विज्डेन क्रिकेटर अफ दी सेन्चुरीको उपाधि पाउने ५ क्रिकेटरमा वार्न पनि छन्। उक्त सूचीमा अँटाउने उनी एक्ला बलिङ स्पेसलिष्ट हुन्। सन् २००३ मा डोपिङमा परेपछि उनी केही विवादमा आएका थिए। उनको आकर्षक व्यक्तित्वका कारण समग्र विश्व खेलकुदमै उनले कराेडौँ समर्थक कमाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर