‘साना सेना’को नेपाली सेना बन्ने सपना – Nepal Press

‘साना सेना’को नेपाली सेना बन्ने सपना

कैलाली । कैलाली बौनियाका प्रकाश परियार वसन्तमुरारी नमूना माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छन् । विद्यालय बिहान १० बजेदेखि सुरु हुन्छ, तर उनी ८ नबज्दै विद्यालय पुग्छन् । विद्यालयको पोसाक झोलामा हालेर नेपाली सेनाको जस्तै देखिने कम्ब्याड लगाएर उनी विद्यालय जान्छन् ।

कक्षा ९ मा अध्ययनरत सिर्जना सार्कीको दैनिकी पनि पछिल्लो एक महिना यता यस्तै छ । उनकै समकक्षी एसिका लुहार र कक्षा ८ मा अध्ययन गरिरहेका शुक्रराज विक पनि यस्तै गर्छन् ।

१६ वर्षभन्दा कम उमेर भएका यहाँका ३५ जना विद्यार्थी अहिले हरेक दिन नेपाली सेना जस्तै भएर विद्यालय पुगेका हुन्छन् । उनीहरूलाई बिहान ८ बजेदेखि १० नबज्दासम्म नेपाली सेनाका कार्यरत बद्री कोइरालाले पढाउँछन् ।

करिब एक महिनादेखि नेपाली सेनाको बारेमा अध्ययन गरिरहेका प्रकाशलाई अहिले नेपाली सेना बन्न मन लागेको छ ।‘पहिले आर्मीको बारेमा धेरै सुनेको थिएँ । अहिले उहाँहरूले गर्ने कामबारे धेरै जान्न पाएँ’, उनले भने, ‘मलाई पनि अब आर्मी भएर देशको रक्षा गर्न मन लागेको छ । ’

सिर्जना नेपाली सेनाको उपल्लो तहमा जान चाहन्छिन् । महिला भएर घरभित्रैको काम गरिरहनु पर्छ भन्ने बुझेकी उनलाई अहिले आफूहरुले पनि धेरै ठूला काम गर्न सकिन्छ भन्ने लागेको छ । दलित समुदायमा हुर्किएकी उनी सेनामा सुनौलो भविष्यको कल्पना गरेको बताउँछिन् ।

‘हामी विपन्न समुदायका नागरिक हौं । हाम्रोमा कोही पनि धेरै नाम कमाएको हुनुहुन्न’, उनी भन्छिन् ‘अहिले हामीले पनि धेरै काम गर्न सकिन्छ, देशको र आफ्नो नाम राख्न सकिन्छ भन्ने लागेको छ ।’

वसन्तमुरारीमा बृहत् खेलकुद प्रतियोगिता भइरहेको थियो । गाउँपालिका भित्रका अधिकांश विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी थिए । सबैको ध्यान आफ्ना विद्यालयका विद्यार्थीको प्रस्तुतिमा थियो । त्यही भीडमा उनीहरु भने फरक पोसाकमा थिए ।

नेपाली सेनाको जस्तै पोसाक लगाएका ती छात्र–छात्रा भीड नियन्त्रण, खानेपानीको व्यवस्थापन र सहजीकरणमा खटिएका थिए ।उनीहरू विद्यालयमा स्वयम्सेवकको काममा मात्रै खटिँदैनन् । गाउँ–घरमा आइपर्ने सामान्य समस्या तथा उद्धारका गतिविधिहरूमा पनि संलग्न छन् ।

‘हामीलाई सिकाइएको कुरा निकै महत्वपूर्ण छ । बाढी पहिरोका बेला उद्धार गर्न र कोही महिला दिदी–बहिनी समस्यामा पर्दा जाइलाग्न सक्छौं’, एसिका लुहार भन्छिन्, ‘यस्तो शिक्षा र तालिम सबै जनालाई भइदिए महिला हिंसा र बलात्कार जस्ता घटनामा पनि कमी आउने थियो ।’

उनीहरूले अहिले आत्मरक्षा, खुकुरी तालिम, सामान्य युद्धको तयारी, दौड तथा विभिन्न प्रकारको कसरत सिकिरहेका छन् ।सबै सीप सिकेर भविष्यमा नेपाली सेना बन्ने अधिकांशको रहर छ ।

नेपाल सरकारले कैलालीको टिकापुर, चिसापानी, बर्दगोरीया, अत्तरिया र धनगढीका करिब ८ वटा विद्यालयमा यस्तो अध्ययनको व्यवस्थापन मिलाएको छ । नेशनल क्यारेट कोर्सअन्तर्गत नेपाली सेनाका आधिकारिक अधिकारी विद्यालयमै आएर तालिम गराउने र पढाउने गरेका छन् ।

वसन्तमुरारीमा अध्ययन गराइरहेका बद्री कोइरालाले नेपाली सेनाले गर्ने क्रियाकलपा र विपद् व्यवस्थाप सम्बन्धी तालिमहरू दिने गरेको बताउँछन् ।

उनका अनुसार कैलालीका ६ विद्यालयमा १८ जना छात्र र १८ जना छात्राले यस्तो शिक्षा लिइरहेका छन् । ३५ दिनसम्म विद्यालयमै नेपाली सेनाको प्रारम्भिक शिक्षा दिइने र त्यसपछि १५ दिन शिक्षालयको क्याम्पमा लगेर तालिम गराइने योजना रहेको उनी बताउँछन् ।

उनीहरूलाई नेपाली सेनाको दर्जा सिकाइन्छ । अहिले नेमप्लेट दिइएको छ । पोसाक दिइएको छ । खेलको लागि ट्रयाकसुट पनि दिइएको छ । प्रशिक्षार्थीहरूको लागि प्रत्येक दिन आधा किलो दूध र एक सय ग्राम जेरीको व्यवस्था पनि मिलाइएको छ ।

यहाँका ३८ जनाले २० गतेबाट चैत ५ गतेसम्म सेनाको ब्यारेक भित्र बसेर तालिम गर्ने गर्ने जनाइएको छ । उनीहरूले कोहलपुरस्थित शिक्षालयमा तालिम गर्ने छन् ।

त्यहाँ तीन चरणमा तालिमको व्यवस्था मिलाइएको छ । पुस १९ गते छनोट भएर माघ २५ गतेदेखि हुनुपर्ने पहिलो क्याम्प फागुन ५ देखि २० गतेसम्म सुरु हुने छ । २० गतेबाट चैत ५ गतेसम्म र चैत ५ गतेबाट २० गतेसम्म तालिकाको व्यवस्था गरिएको छ ।

बौनियमा रहेका ३६ जनालाई जुनियर डिभिजनमा राखिएको छ । ‘कक्षा ८ ,९ र १० का १४ वर्ष देखि १६ वर्षसम्मलाई जुनियर डिभिजनमा राखिन्छ ’ कोइरालाले भने, ‘सिनियर डिभिजन कक्षा ११ र १२ मा अध्ययनरत हुन्छन् ।’

१६ वर्षदेखि १८ वर्षसम्मका सिनियर डिभिजनमा रहेकाहरूलाई फाइरिङ, स्विमिङ र हर्ष राइडिङसम्बन्धी पनि तालिम दिइने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर