प्रचण्ड-नारायणकाजी ‘मन माझामाझ’ गर्न तयार – Nepal Press

प्रचण्ड-नारायणकाजी ‘मन माझामाझ’ गर्न तयार

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर ‘वाकयुद्ध’मा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मिलेर जान तयार भएका छन् ।

एमसीसीकै कारण पार्टी विभाजन नै हुन्छ कि भन्ने आशंकाहरु व्यक्त भइरहेका बेला शुक्रबारदेखि सुरु भएको बैठमा दुवै नेताले आफूहरु ‘मन माझामाझ’ गरेर जान तयार रहेको उल्लेख गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

विशेष गरि अध्यक्ष प्रचण्ड एमसीसीलाई लिएर श्रेष्ठले गरेको आलोचना सुन्न तयार भएको र उनी लगायतका नेताले राखेको फरक मत दर्ज गर्न सहमत देखिएपछि यस्तो वातावरण बनेको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी नेता देव गुङले पार्टी एकताको पक्षमा दुवै नेताले आफ्ना विचार राखेको जानकारी दिए ।

बैठकको सुरुमा एसीसी पास गर्नु पर्नका कारणबारे प्रचण्डले ‘ब्रिफिङ’ गरेका थिए । त्यसपछि श्रेष्ठले आफ्नो लिखित असहमति पेस गरेका थिए ।

‘पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने कुरा अध्यक्षको पनि थियो, नाराणकाजीको पनि थियो,’ संवाददाताहरुसँग नेता देव गुरुङले भने, ‘पार्टी एकताको विकल्प छैन । पार्टीभित्र मतभेद भइरहन्छन्, तीनलाई समयक्रममा छलफल गर्र्दै एउटा समझदारीमा पुग्नुपर्छ भन्ने कुरामा दुवै नेताको जोडबल थियो ।’

आजको बैठकले पार्टी एकतावद्ध भएर अगाडि जाने सन्देश दिएको विश्वास गुरुङले व्यक्त गरे । ‘उहाँहरु दुई जनाको अभिव्यक्तिबाट पार्टी एकताकामा कसैले पनि शंका नगरे हुन्छ,’ उनले भने, ‘पार्टी एकतावद्ध भएर अगाडि बढ्नेछ । भलै विषयगत आधारमा पार्टीभित्र मतभेद भइरहन्छन् । त्यसले झन पार्टी एकतालाई सुढृद बनाउँछ भन्ने देखिन्छ । आजको बैठकले यही सन्देश दिएको छ ।’

बैठकमा सहभागी केन्द्रीय सदस्य रेखा शर्माले पनि पार्टीलाई एकतावद्ध बनाएर जानुपर्नेमा श्रेष्ठले जोड दिएको बताइन् । ‘नारायणकाजी कमरेडले पार्टी विभाजन आदी–इत्यादीको कुरा मैले सोचेको पनि छैन भन्नु भएको छ,’ उनले नेपाल प्रेससँग भनिन्, ‘उहाँले नेकपा हुँदादेखिका कुराहरु ल्याएर व्याख्यात्मक घोषणा गलत हो भन्ने कुरा राख्नु भएको छ। तर, पनि पार्टीलाई एकतालाई बलियो बनाएर जानुपर्छ भन्ने कुरा नै उहाँले राख्नु भएको छ।’

चुनावमा केन्द्रित हुन प्रचण्डको जोड

बैठमा प्रचण्डले एमसीसीका अलवा समसामयिक राजनीतिका बारेमा पनि ‘रिर्पोटिङ’ गरेका थिए ।

प्रचण्डले निर्वाचनसम्मै हालको सत्ता गठबन्धन जाने बताउँदै पार्टीको तयारी पनि चुनावमै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

यसबारे नेता गुरुङले भने, ‘निर्वाचनसम्मै गठबन्धन गरेर जानुपर्छ भन्ने कुराहरु छन् । तर, पनि हामीले आफ्नो तयारी गरेर जानुपर्छ । पुरै निर्वाचनमा होमिनुपर्छ भन्ने कुरामा अध्यक्ष कमरेडको मुल जोड थियो ।’

बैठकमा सहभागी नेताका अनुसार चुनावमा गठबन्धन गरेर जाँदा कांग्रेस पहिलो बने पनि एमालेलाई पराजित गरेर माओवादी दोस्रो दल बन्ने दावी पेस गरेका थिए ।

एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन गरेर जाँदा हामी एमालेलाई पराजित गरेर दोस्रो शक्ति बन्ने अवस्था छ तर हाम्रो जोड पहिलो बन्नैमा हुनुपर्छ ।’

प्रचण्डले स्थानीय तहको चुनावमा पहिले जजसले जितेको हो त्यो सम्बन्धित दलले नै लिने र एमालेले जितेका स्थानमा गठबन्धन भित्र भागबन्डा हुनुपर्ने प्रस्ताव आफूले राखेको समेत जानकारी गराएका थिए ।

पदाधिकारी चयन हुने सम्भावना कम

बैठकका एजेन्डामा पदाधिकारी चयनलाई राखिएको भएपनि त्यो सम्भावना कम भएको माओवादीकै नेताहरुले बताएका छन् ।

विशेष गरि महासचिवमा सहमति नजुटेकाले प्रचण्ड चुनावका मुखमा विवाद गर्न नहुने भन्दै त्यसलाई थाती राख्ने पक्षमा छन् । यसका बाबजुद पनि भोलि त्यसबारेमा गृहकार्य गर्ने भन्दै केन्द्रीय समितिको बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ।

केन्द्रीय सदस्य शर्मा पदाधिकारीमा सहमति जुटे मात्रै घोषणा हुने नत्र नहुने बताउँछिन् । ‘भोलि गृहकार्य गर्ने भन्नुभएको छ,’ उनले भनिन्, ‘सहमतिसहित हुने भयो भने टुंगिन्छ, भएन भने टुंगिदैन ।’

पदाधिकारीमा सहमति नजुटे केन्द्रीय सदस्यको मनोनयन, स्थायी समिति र पोलिटब्युरोको गठन तथा नेताहरुको कार्यविभाजन मात्रै यसपटकको बैठकबाट हुने सम्भावना छ ।

त्यस्तै स्थानीय तह केन्द्रित भएर चुनावी अभियान पनि बैठकबाट घोषणा गरिने छ ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-नारायणकाजी ‘मन माझामाझ’ गर्न तयार

  1. याे स्वार्थीहरूकाे गठजाेड मात्रै हाे । पार्टी नै हाेईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर