बार चुनाव- एमालेविरुद्ध सत्ता गठबन्धनको कसरत, यी हुन् अध्यक्षका दावेदार – Nepal Press

बार चुनाव- एमालेविरुद्ध सत्ता गठबन्धनको कसरत, यी हुन् अध्यक्षका दावेदार

देउवा र प्रचण्ड-माधवबीच रमण नेतृत्वको सत्ता गठबन्धन बनाउने समझदारी !

काठमाडौं । नेपालको इतिहासमै बहालवाला न्यायाधीश र बार नेतृत्वको हड्तालका कारण न्यायापालिका सर्वाधिक विवाद र बदनाम भएका बेला नेपाल बार एशोसियसनको नयाँ नेतृत्वका लागि एक महिनापछि चुनाव हुँदैछ ।

बारको नयाँ नेतृत्वका लागि यहि फागुन २३ गते उम्मेदवारी मनोनयनको तालिका सार्वजनिक भएको छ । अध्यक्ष,सात प्रदेश तथा एक महिला गरी ८ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य समेत गरि २५ पदका लागि निर्वाचन हुँदैछ । चयन १९ गते सात प्रदेशका ३६ मतदान केन्द्रमा करीव १० हजार मतदाताले भाग लिँदैछन् ।

३ वर्षअघि तत्कालीन नेकपाबाट उम्मेदवार बनेका चण्डेश्वर श्रेष्ठ नेतृत्वको बारको कार्यकाल सर्वोच्च परिसरमा नारा जुलुस गरेर बित्नै लाग्दा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध बारकै माग अनुसार सत्ता गठबन्धनमा महाअभियोग लगाएकोले त्यसको बाछिटा निर्वाचनमा पनि देखिने सम्भावना छ ।

बिगतमा वामपन्थी वकिलहरु एकातिर,कांग्रेस सम्बद्ध वकिल एकातिर भएर प्रतिस्पर्धा हुने गरेकोमा यसपटक फरक परिस्थिति निर्माण भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बार चुनावमा पनि एमालेविरुद्ध गठबन्धन गर्ने अनौपचारिक सहमति भएपछि वकिलहरुबीच खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाले कांग्रेस सम्बद्ध डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) का नेताहरुलाई सत्ता गठबन्धन बार चुनावमा पनि निरन्तरता दिएर उम्मेदवारी मिलाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तर डिएलएका अध्यक्ष योगेन्द्र अधिकारीले भने प्रधानमन्त्रीले आफूहरुलाई बोलाए पनि त्यस्तो निर्देशन भने नदिएको दावी गरे ।

सत्ता गठबन्धनको तर्फबाट पूर्व महान्यायाधिवक्ता बरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउनेबारेमा छलफल भएको छ । माओवादी आबद्ध श्रेष्ठ शेरवहादुर देउवाले पनि रुचाएका पात्र हुन् । देउवा प्रधानमन्त्री हुँदा केही महिना महान्याधिवक्ता समेत रहेका श्रेष्ठले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेको हुनाले शीर्ष नेता रमणको पक्षमा छन् ।

तर डीएलएका अध्यक्ष अधिकारीले पनि अरु संगठनलाई नेतृत्व दिएर गठबन्धन गर्न नसकिने बताए । उनले यसबारेमा अहिले छलफल भइरहेको र गठबन्धन भए पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने बताए ।

अधिकारीले नेपाल प्रेससँग भने- हाम्रा प्रत्याशीहरुसँ छलफल गरिरहेकै छौ । गठबन्धन गरेर जानेबारे पनि अन्य संगठनका साथीहरूसंग छलफल भइरहेको छ । अहिले नै टुंगोमा पुगेका छैनौ । बारको नेतृत्वमा हाम्रो दावी छ । हाम्रो नेतृत्वमा सबैलाई अटाउन चाहान्छौ । अरु संगठनलाई नेतृत्व दिएर जाने कुरा सोचेका छैनौ । प्रधानमन्त्रीले बोलाउनुभएको यश विषयमा होइन, अरु नै सन्दर्भमा हो ।

बार चुनावमा सत्ता गठबन्धन गर्न शीर्ष तहमा समझदारी भएको भनिए पनि कांग्रेसमै तीब्र विरोध भएको छ । कांग्रेसको शेखर कोइराला समूहले गठबन्धन अश्वीकार गरेको छ ।

नेता कोइरालाले ट्वीट गर्दै भनेका छन्- बिधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० को महत्त्वपूर्ण भुमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो । नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ। अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ।

वामपन्थी वार्ता बिथोलियो

यसैबीच विगतमा जस्तै बार चुनावमा वाम गठबन्धन गर्ने प्रयास पहिलो चरणमै बिथोलिएको छ । नेकपा एमाले सम्बद्ध पिपिएलएको अग्रसरतामा विहीवार बार चुनावमा गठबन्धन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा एमालेको तर्फबाट वार्ता टोली संयोजक बिजयकान्त मैनाली,बार उपाध्यक्ष ईश्वरी भट्टराई,कोषाध्यक्ष रुद्र पोखरेल र अधिवक्ता अमर थापा सहभागी थिए । त्यस्तै माओवादीबाट रमण श्रेष्ठ,दिनमणी पोखरेल र उमेश गौतम थिए ।

विप्लव नेतृत्वको नेकपा निकट एकराज भण्डारी,कपिल पोखरेल तथा नेकपा एस निकट डेकेन्द्र सुवेदी लगायतको वार्ता भए पनि माओवादी र नेकपा एस आबद्ध वकिलहरुले वाम गठबन्धनमा रुची नदेखाएको वार्तामा सहभागी एक अधिवक्ताले बताए ।

उनले भने- उहाँहरुको कुरा सत्ता गठबन्धन नै बार चुनावमा लैजाने र देउवाले डिएलएलाई निर्देशन दिइसकेकाले रमणलाई नै अध्यक्ष बनाएर कांग्रेसलाई आफूहरुको नेतृत्वमा लैजान सकिन्छ भन्ने देखियो ।उहाँहरुले हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो भनेपछि वार्ता बिना निष्कर्ष फेरि बस्नेगरि टुंगियो ।

विगतमा वाम र लोकतान्त्रिक प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने गरेकोमा यसपटक सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धाको सम्भावना बारमा देखिएको छ । सत्ता गठबन्धन भएको अवस्थामा लोसपा लगायत कतिपय साना वाम घटकले एमाले आबद्ध पिपिएलएको नेतृत्वमा चुनाव लड्ने सम्भावना पनि देखिएको छ ।

यता सत्ता गठबन्धन र एमालेको विकल्पमा तेस्रो धार समेत निर्माणको प्रयास भइरहेको छ । विशेषगरि बार नेतृत्वलाई नारा जुलुसको अगुवाइ गर्ने बरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा लगायतको समूहले तेस्रो धार बनाउने चर्चा पनि चलेको छ । तेस्रो धारको उम्मेदवार सविता भण्डारीलाई बनाउने सम्भावना छ ।

एमाले निकट बारका एक बहालवाला सदस्यले भने- परमादेश पक्षधर र जनादेश पक्षधर वकिलहरुबीच बारमा प्रतिस्पर्धा हुने सम्भावना थियो । तर परमादेशी केही दाजुहरुले तेस्रो धार निर्माणको प्रयास पनि गरिरहनुभएको छ । तर त्यसको आकार प्रष्ट भइसकेको छैन ।

यी हुन् अध्यक्षका दाबेदार

उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा विभिन्न पार्टी आबद्ध वकिलहरुका संगठनले अध्यक्ष लगायत पदाधिकारी र सदस्यका आकांक्षीहरुको नाम संकलन गरिरहेका छन् । यसपटक गठबन्धनबाट अध्यक्षमा रमण श्रेष्ठको सम्भावना बढी छ ।

तर डिएलएले अरुको नेतृत्व स्वीकार नगर्ने भनेको अवस्थामा माओवादी वाम गठबन्धनमै फर्किन्छ कि कांग्रेसको नेतृत्वमा जान्छ भन्ने टुंगो छैन । नेकपा एसले माओवादीको निर्णय मान्ने निश्चित छ ।

माओवादीबाट रमणका साथै दिनमणी पोखरेल पनि अध्यक्षका दाबेदार हुन् । तर गठबन्धन भएको अवस्थामा भने रमण नै उम्मेदवार बन्ने निश्चित छ । कांग्रेसबाट आधा दर्जनभन्दा बढीले अध्यक्षमा दावी गरका छन् ।

पूर्व महासचिव सुनिल पोखरेल, माधव बास्कोटासहित बिजय मिश्र, गोपालकृष्ण घिमिरे, अनिता जोशी मानन्धर, सुष्मा बराल लगायतले अध्यक्षमा दावी गरेका छन् । डिएलएका अध्यक्ष अधिकारीले आकांक्षीहरुबीच छलफल भइरहेको बताए ।

यता एमाले निकट पिपिएलए समक्ष अहिलेसम्म अध्यक्षका लागि महेश नेपाल,टीकाराम भट्टराई,रविनारायण खनाल,विष्णुमणी अधिकारीले दावी पेश गरेका छन् ।

नेकपा एसले तेस्रो धार निर्माण भएमा सबिता भण्डारीलाई सघाउने सम्भावना छ । सो समूहबाट अध्यक्षमा शंकर सुवेदी र हर्क रावलले दावी गरेका छन् ।

के भन्छन् प्रमुख संगठन ?

बार चुनावमा कस्तो गठबन्धन बन्ने कुरामा एमाले,कांग्रेस र माओवादी आबद्ध वकिलहरुका संगठनले अहिलेसम्म ठोस निर्णय गर्न सकेका छैनन् । उनीहरु दुई पक्षीय र वहुपक्षीय वार्तामा छन् ।

एमाले निकट पीपीएलका वार्ता टोली सदस्य समेत रहेका बार कोषाध्यक्ष रुद्र पोखरेल आफूहरु वामपन्थी गठबन्धनको पक्षमा रहेको बताउँछन् । यसबीचमा विभिन्न चरणमा कुरा भए पनि ठोस निष्कर्ष नआएको उनले बताए ।

माओवादी निकट अधिवक्ता दिनमणी पोखरेलले वार्ता सबैतिर भइरहे पनि शनिवारसम्म केही निष्कर्ष आउन सक्ने बताए । उनले सत्ता गठबन्धन गर्ने कि वाम गठबन्धन भन्नेबारे निचोडमा पुगि नसकिएको नेपाल प्रेसलाई बताए ।

कांग्रेस आबद्ध डीएलएका अध्यक्ष योगेन्द्र अधिकारीले भने आफूहरु अन्य संगठनलाई अध्यक्ष दिएर गठबन्धन गर्न नसक्ने अवस्थामा रहेको प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर