हिरासतमा भेट्न पुगेकी पुजालाई के भने पल शाहले ? – Nepal Press

हिरासतमा भेट्न पुगेकी पुजालाई के भने पल शाहले ?

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरयता नायिका पुजा शर्मा लगातार चर्चा र गसिपमा छिन् । पललाई बचाउन विभिन्न अन्तर्वार्तामा ‘बच्कना’ अभिव्यक्ति दिँदा उनको ट्रोल पनि भइरहेको छ ।

चलचित्र प्रदर्शनको एक साता पूरा गरेको दिन आज निर्देशक सुदर्शन थापासहित पूजाले पहिले प्रेस मिट फेस गरिन् । चलचित्रले पहिलो साता उत्साहजनक व्यापार गरेपनि पुजा र सुदर्शनको अनुहारमा भने उत्साह थिएन । खासगरी पुजा प्रेसमिटमा निकै उदास र भावुक देखिएकी थिइन् ।

प्रेस मिटको सुरूमै चलचित्रसम्वन्धी मात्रै प्रश्न राखिएको थियो । तर, सञ्चारकर्मीको चासो चाहिँ पलकै विषयमा केन्द्रित थियो । यसपालि भने पूजाले विवादित अभिव्यक्तिबाट बच्ने प्रयास गरिन् । कानूनले नै ठीक-बेठीक छुट्याउने भन्दै उनले आफू कसैको पक्ष वा विपक्षमा नरहेको बताइन् । चलचित्रमा गरेको मिहिनेत भन्दा कन्ट्रोभर्सीलाई बढी हाइलाइट गरिएकोमा उनको गुनासो थियो ।

पूजाले अस्ति मात्रै तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेर पललाई भेटेकी थिइन् । उक्त भेटमा भएको कुराकानीबारे पनि सञ्चारकर्मीले उनलाई सोधेका थिए ।

पूजाले भनिन्, ‘मैले सबैतिर हलहरूमा पुग्दा दर्शकले तिमीलाई खोजिरहेका छन् भनेर सुनाएँ । पलले पनि मेरो हृदयभरिको माया दर्शकलाई सुनाइदिनू है पुजा भनेको छ ।’

पुजाले यस चलचित्रको प्रिमियरमा भक्कानिँदै भविष्यमा चलचित्र क्षेत्रबाटै बाहिरने सोचसमेत सुनाएकी थिइन् । यस विषयमा पनि सञ्चारकर्मीले जिज्ञासा राखे ।

अब फेरि चलचित्र निर्माण गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा पुजाले भनिन्, ‘अब त सोच्नैपर्छ जस्तो लागिरहेको छ ।’

बाहिरबाट जेजस्तो आक्रमण भए पनि आफूलाई फरक नपर्ने पुजाले बताइन् ।

उनले भनिन्, ‘मलाई वार गर्नेहरूलाई दर्शकले नै छेकेर बस्नुभएको छ । १०० मा ९० प्रतिशतले मलाई साथ दिनुभएको छ । १० प्रतिशतले आक्रमण गरेर केही फरक पर्दैन ।’

प्रेसमिटमा निर्देशक सुदर्शन थापाले स्क्यान्डलका कारण चलचित्र हिट भएको आरोपको खण्डन गरे ।

उनले भने, ‘कुनै पनि चलचित्र राम्रो भयो भने मात्रै चल्ने हो । हामीले यसमा मिहिनेत गरेका थियौं । त्यसकै नतिजा प्राप्त भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर