चितवन कांग्रेसको मतदान जारी, नेतृत्व लिन ५ जना प्रतिस्पर्धामा – Nepal Press

चितवन कांग्रेसको मतदान जारी, नेतृत्व लिन ५ जना प्रतिस्पर्धामा

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत चितवन जिल्ला कार्यसमितिको नेतृत्वका लागि मतदान जारी छ ।

नारायणगढको नारायणी कला मन्दिरमा बिहान साढे १० बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

चितवन कांग्रेसको नेतृत्व लिन ५ जना प्रतिस्पर्धी मैदानमा छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठ संस्थापन पक्षको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

उनलाई केन्द्रीय सभापति शेरबहादुर देउवा र निकट केन्द्रीय सदस्यहरु उमा रेग्मी, उमेश श्रेष्ठ, शान्ति परियार र अञ्जनी श्रेष्ठको समर्थन रहेको छ ।

सभापतिको प्रतिस्पर्धामा रहेका अन्य ४ प्रतिस्पर्धी भने संस्थापनइतर समूहका हुन् । डा. शेखर कोइराला नेतृत्वको समूहमा सक्रिय राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइराला सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डा. सूर्यकान्त घिमिरेपनि सभापतिको रेसमा रहेका छन् ।

जिल्ला अधिवेशनमा २ हजार ९ सय ४४ जना क्षेत्रीय प्रतिनिधि मतदाताका रुपमा रहेका छन् ।

कांग्रेस विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने हुन्छ । पहिलो चरणमा नतिजा निस्कन नसके शीर्ष २ प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर