कम्युनिस्टप्रति गगनको कटाक्ष- एउटाले संसद विघटन गरे, अर्कोले लौन प्रभु भन्दै कांग्रेसलाई सरकार जिम्मा लाए – Nepal Press

कम्युनिस्टप्रति गगनको कटाक्ष- एउटाले संसद विघटन गरे, अर्कोले लौन प्रभु भन्दै कांग्रेसलाई सरकार जिम्मा लाए

‘प्रचण्ड-माधवसँगको गठबन्धन चुनाव गराउनका लागि हो, चुनावमा भाग दिन होइन’

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन् । तर स्थानीय चुनाव भने वैशाख ३० मै हुने भन्दै महामन्त्री थापाले संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए ।

कास्कीको मादी गाउँपालिका शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलामा महामन्त्री थापाले संसद अवरोध खुलाउन प्रधानमन्त्री शेरवहादुर देउवा र आफूहरु समेत पटक पटक एमाले अध्यक्ष केपी ओलीको निवासमा हात जोड्न पुगेको बताए ।

थापाले भने- संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहान्छौं । त्यसैले हामी हात जोड्दै बालकोट पुगेका हों । हात जोड्ने पालो हाम्रो हो । हामी एमाले र केपी ओली होइनाैँ । जिम्मा पाएकाले निहुरिन पनि जान्नुपर्छ । त्यसैले हामी प्रतिपक्षी दलका नेताको ढोका ढक्ढक्याउन गएका छौं । संसद खुलाउन मद्दत चाहियो भनेर गएका हौं । यति गर्दा पनि अवरोध खुलेन भने के गर्ने रु त्यसबारे सल्लाह हुँदै गदर्छ तर स्थानीय चुनाव तलमाथि हुँदैन ।

महामन्त्री थापाले कम्युनिस्टहरुले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताए । उनले केपी ओली वा प्रचण्ड कोही पनि दोषमुक्त नरहेको भन्दै गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको समेत प्रष्ट पारे ।

थापाले भने- कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे ? ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन् । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो ।

महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने रहेको बताए । तर गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड-माधव समूहसँग चुनावी गठबन्धनबारे अहिले कुनै निर्णय नभएको बताए ।

थापाले भने- गठबन्धनमा बस्नासाथ चुनावमा मिल्छौं कि मिल्दैनौं अर्कै विषय हो । २०५६ मा हामीले एमालेसँग मिलेर सरकार बनायौं । चुनाव कांग्रेस र एमालेको बीचमा भयो । सँगै सरकारमा बस्यौं,कांग्रेस पहिलो, एमाले दोस्रो पार्टी भयो ।

महामन्त्री थापाले अबको चुनावमा सबैले कम्युनिस्टहरुलाई कसले मिलायो ? कसले फुटायो भनेर प्रश्न गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर