कांग्रेसले नीति महाधिवेशन कहिले गर्ला ? – Nepal Press

कांग्रेसले नीति महाधिवेशन कहिले गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित रह्यो । विधानले दिएको र संविधानले उपलब्ध गराएको भन्दा बढी अवधि पार गरेपछि वैधानिकता जोगाउने चुनौतीबीच कांग्रेस महाधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशनमा पार्टीको नीतिगत समिक्षा र भावी नीति तथा कार्यक्रमबारे कुनै छलफल हुन सकेन । वैधानिकता जोगाउनकै लागि कांग्रेसले नीति महाधिवेशन ६ महिनाभित्र गर्ने गरी महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्ने निर्णय लिएको थियो । महाधिवेशनको ३ महिना पूरा भए पनि कांग्रेसमा नीति महाधिवेशनको चर्चा समेत भएको छैन ।

नीति महाधिवेशनको आवश्यकता

नेपाली कांग्रेसका पछिल्ला २ महाधिवेशन वैधानिकता जोगाउने चुनौतीबीच सम्पन्न भए । १४ औं महाधिवेशन गत मंसिर अन्तिम साता नीतिको छलफलबिनै टुंगियो । १३ औं महाधिवेशपनि संविधान लेखनको काम सकेर २०७२ फागुनमा वैधानिकता टार्ने हिसाबले गरिएको थियो । यद्यपि १३ औं महाधिवेशनको बन्दसत्रमा कांग्रेसले राजनीति प्रतिवेदन र पार्टीको कार्यदिशाबारे सामान्य छलफल गरेको थियो ।

कांग्रेस विधानको दफा १७ को ५ बमोजिम गत महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनको एजेण्डामा मात्रै केन्द्रित गरेको थियो । सो दफामा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिने’ उल्लेख छ । कांग्रेस केन्द्रीय समितिको गत कात्तिक २८ गतेको बैठकले १४ औं महाधिवेशन नेतृत्व केन्द्रित गर्ने र त्यसको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘हामीले नेतृत्व छान्यौ तर नीतिमा छलफल गरेनौं । लोकतान्त्रिक मूल्य मान्यता हाम्रो मुख्य नीति भएपनि संविधानले प्रदत्त गरेका अधिकारहरूको कार्यान्वयन कसरी गर्ने भन्नेमा कांग्रेसले प्रष्ट नीति कार्यक्रम ल्याउनुपर्छ । त्यसका लागि नीति अधिवेशन जरुरी छ ।’ –कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य

कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले पार्टीले लिने नीतिबारे पर्याप्त छलफल र बहस जरुरी भएकोले तत्काल नीति महाधिवेशन बोलाउनुपर्ने बताउँछन् । संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि कांग्रेसले लिने नीतिबारे पर्याप्त छलफल नभएको काफ्लेको भनाइ छ ।

‘हामीले नेतृत्व छान्यौ तर नीतिमा छलफल गरेनौं । लोकतान्त्रिक मूल्य मान्यता हाम्रो मुख्य नीति भएपनि संविधानले प्रदत्त गरेका अधिकारहरूको कार्यान्वयन कसरी गर्ने भन्नेमा कांग्रेसले प्रष्ट नीति कार्यक्रम ल्याउनुपर्छ । त्यसका लागि नीति अधिवेशन जरुरी छ’, काफ्लेले भने ।

संविधानले शिक्षा, स्वास्थ्य, आवासजस्ता विषयलाई मौलिक अधिकार मानेपनि त्यसको कार्यान्वयनक लागि कांग्रेसले नीति तय गर्नुपर्ने उनको भनाइ छ ।

नीति अधिवेशन कि महासमिति बैठक ?

कांग्रेसमा सामान्यता महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्ने प्रचलन रहेको छ । यद्यपि पछिल्लो समय एक कार्यकालमा एउटा मात्रै महासमिति भएको पाइन्छ । यसपटक महाधिवेशनमा राजनीतिक प्रतिवेदन, कार्यदिशा र पार्टीले लिने कार्यक्रमबारे छलफल नभएकोले नीति अधिवेशनको सट्टा महासमिति बैठक नै बस्ने सम्भावना पनि रहेको छ ।

‘विधानले महाधिवेशन हुने बाहेक हरेक वर्ष महासमिति बैठक बस्ने व्यवस्था गरेको छ । पार्टीको नीतिबारे निर्णय लिने थलो महासमिति पनि हो । त्यसैले २०७९ सालको सुरूमै नीति अधिवेशनको रूपमा महसमिति बैठकपनि गर्न सकिन्छ’, एक पदाधिकारीले नेपाल प्रेससँग भने । ती पदाधिकारीका अनुसार स्थानीय निर्वाचनभन्दा अगाडि पार्टीको नीति, समसामयिक परिस्थितिको विश्लेषण र नयाँ कार्यक्रम तय गर्न महासमिति बैठक गर्नु उपयुक्त हुनेछ ।

केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसले फागुन २० देखि गर्ने भनेको स्थानीय निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान चैतदेखि मात्रै सुरू गर्ने जनाएको छ । फागुन मसान्तभित्र भ्रातृ संस्थाहरूको तदर्थ समिति बनाएर निर्वाचन लक्षित कार्यक्रम गर्ने तयारी अनुसार पदाधिकारी तहमा अनौपचारिक छलफल भइरहेको छ । भ्रातृ संस्थालगायतका विषयमा निर्णय लिन यही हप्ता कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

‘यो हप्ता केन्द्रीय समितिको बैठक बसेर भ्रातृ संस्था गठन, स्थानीय निर्वाचनको तयारी र थप अभियानबारे निर्णय लिन्छौं होला’, कांग्रेसका एक पदाधिकारी भन्छन् । सोही बैठकमा नीति महाधिवेशन वा महासमिति बैठक गर्ने भन्नेमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर