पाटन-जावलाखेल-पुल्चोक क्षेत्रमा धुम्रपान गरे जरिबाना तिराइने (भिडिओ) – Nepal Press

पाटन-जावलाखेल-पुल्चोक क्षेत्रमा धुम्रपान गरे जरिबाना तिराइने (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

उनले आजबाट लागू हुनेगरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुआती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

महर्जनले भने, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छाै । दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोनाभाइरसका कारण सफल हुन सकेनौँ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । सुरुआती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’

उनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर