धनुषा कांग्रेसमा तीन प्यानलको प्रतिस्पर्धा, कसले मार्ला बाजी ? – Nepal Press

धनुषा कांग्रेसमा तीन प्यानलको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विमलेन्द्र निधि समूहको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२३ गते हुने चुनावका लागि बिहीबार तीनै समूहका नेताहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा समूहबाट सन्तोष यादव, कोइराला समूहबाट दिनेश प्रसैला यादव र निधि समूहबाट योगेन्द्र पजियारले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनकपुरस्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका तीनै समूहले अलग–अलग जुलुस निकालेका थिए । उम्मेदवारी दर्ता गराउन उनीहरुले गाउँ गाउँबाट नेता कार्यकर्ता जनकपुरधाम बोलाएका थिए । उम्मेदवारी दर्ताकै तामझामका लागि उनीहरुले लाखौं रुपैयाँ खर्चेका छन् ।

सभापतिका उम्मेदवार सन्तोष निवर्तमान उपसभापति हुन् । प्रसैला पूर्वसांसद र पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन् । तीनैजनाले आफू मात्र योग्य रहेकाले चुनाव जित्ने दाबी गरिरहेका छन् । चुनाव जित्न तीनै जनाले ठूलो रकम खर्चिने देखिएको कार्यकर्ता बताउँछन् ।

जिल्ला उपसभापतिका लागि ६ जना, सचिवका लागि ९ जना र सहसचिवका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

चुनाव जित्न सभापतिका उम्मेदवारले ५१ प्रतिशत बढी मत ल्याउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । तर अहिलेको स्थितिअनुसार तीनमध्ये कुनैले पनि पहिलो चरणमा त्यति मत ल्याउने सम्भावना देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर