कांग्रेस बाँके: मन्त्री हमाल पहिलो चरणबाटै आउट, सभापतिका लागि गौडेल-कुर्मीबीच फेरि प्रतिस्पर्धा – Nepal Press

कांग्रेस बाँके: मन्त्री हमाल पहिलो चरणबाटै आउट, सभापतिका लागि गौडेल-कुर्मीबीच फेरि प्रतिस्पर्धा

रूपन्देही । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा तेस्रो भएर पहिलो चरणबाटै आउट भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवानिकट उनी बिहीबार जिल्ला नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा उनी तेस्रो भएका हुन् । प्राप्त अन्तिम नतिजाअनुसार संस्थापनइतर समूहका नारायण गौडेलले सबैभन्दा धेरै ५६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत प्राप्त गरे । अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरे । संस्थापन समूहबाट हमाललाई हराउन नेता किशोरसिंह राठौरले बादशाह कुर्मीलाई उठाएको हमालनिकट नेताहरुको आरोप छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएकोले जिल्ला सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा गौडेल र कुर्मीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको निर्वाचन शुक्रबार हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानमा १४ सय ४५ मत खसेको थियो । बाँके काँग्रेस निर्वाचनमा कुल १४ सय ९३ मतदाता रहेका थिए । २४ मत बदर भएको थियो
कांग्रेसको विधानअनुसार ५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्र विजयी हुने प्रावधान छ । यदि त्यसो हुन नसके बढी भोट ल्याउने दुईजनाबीच पुनः मतदान हुने व्यवस्था छ ।

सभापति पदको टुंगो लागेपछि मात्र बाँकी पदाधिकारीको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट सभापतिसहित ७ जना पदाधिकारीसहितको कार्यसमिति चुनिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर