फेवा तालको झल्को दिने सिरहाको गोसाइँ डाँडा ताल, संरक्षणमा जुटे स्थानीय (तस्बिरहरु) – Nepal Press

फेवा तालको झल्को दिने सिरहाको गोसाइँ डाँडा ताल, संरक्षणमा जुटे स्थानीय (तस्बिरहरु)

जनकपुरधाम । चारैतिर हरियाली जंगल । चराचुरुङ्गीको मधुर चिरबिर । बीचमा रहेको तालमा सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी । यो दृश्य हो– श्री गोसाइँ डाँडा तालको ।

यो ताल सिरहाको लहान नगरपालिका १५ बानोस्थित श्री झोवाई खोल्सी चुडिया डाँडा सामुदायिक वन क्षेत्रमा पर्छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको यो मनोरम तालको संरक्षणमा यतिबेला स्थानीय जुटेका छन् ।

वन क्षेत्रभित्र बग्दै आएको वर्षाको पानी करिब १५ बिगाहा क्षेत्रफलमा जमेको थियो । स्थानीयले सुरुमा बाँध बाँधेर पोखरी बनाए । उक्त पोखरीबाट किसानहरुले कुलो निर्माण गरी खेतमा सिँचाइ गर्न थाले । अहिले पोखरीलाई तालको रुप दिएर पर्यटकीय गन्तव्य बनाउन स्थानीय लागिपरेका छन् ।

यो तालको संरक्षण, सम्बद्र्धन र सौन्दर्यीकरण गरियो भने पोखराको फेवातालको झल्को दिने स्थानीयको विश्वास छ । त्यसैले तालको बीचमा मन्दिरसमेत निर्माण गर्ने उनीहरुको योजना छ ।

सो क्षेत्रका संघीय सांसद प्रदिप गिरीले १५ लाख, वन कार्यालय लहानले १० लाख र भूसंरक्षण कार्यालयले ६ लाख ५० हजार रुपैयाँ ताल संरक्षणका लागि गतवर्ष बजेट उपलब्ध गराएको थियो ।

उक्त बजेटबाट समितिले बोटिङको व्यवस्था मिलाएको छ । ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण गरेको छ । ताल घुम्न बाटो, शौचालय, ठाउँ–ठाउँमा बाँध र तटबन्धसमेत निर्माण गरेको छ । बजेट अभावमा अझ धेरै काम गर्न नसकेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष अभिनन्दन चौधरीले तीन वर्षको अन्तरालमा बाँध, पर्खाल, ठाउँ ठाउँमा विश्रामस्थल र दुई मन्दिर (महादेव र हनुमान) लगायतका संरचना निर्माण गरेको सुनाए । उनले ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न डिपिआरसमेत तयार पारेको भन्दै दातृ निकायलाई सहयोग गर्न अपिल गरे ।

उनले डिपिआरकै आधारमा जिपलाइन ल्याउने तयारी गरेको र सामुदायिक रिसोर्टको प्लानिङ गरेको बताए । यहाँ जिल्लाका विभिन्न ठाउँका मानिसहरु पिकनिक मनाउन समेत आउन थालेकाले पिकनिक स्थलको रुपमा पनि विकास गर्ने र त्यसका लागि तत्काल दुईवटा ट्रष्ट समेत बनाइसकेको सुनाए । यहाँ भ्यूटावर बनाउने योजना पनि डिपिआरमा समावेश गरेको उनको भनाइ छ ।

ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कुनै तहको सरकारले सहयोग नगरेको उनको गुनासो छ । उनी भन्छन्, ‘लहान नगरपालिका त आँगनकै सरकार हो । तर अहिलेसम्म केहि सहयोग गरेको छैन । मेयर ज्यूलाई पटक पटक भेटेर आग्रह गर्दा पनि कुनै वास्ता गर्नुभएको छैन ।’

लहानका समाजसेवी महेश चौधरीले ताल क्षेत्रमा शिव मन्दिर निर्माण सुरु गरेका छन् । स्थानीयको आग्रहमा उनी आफ्नो स्वर्गिय पत्नी संगिता कर्माचार्यको नाममा १० लाखको लगानीमा शिव मन्दिर निर्माण गर्न लागेका हुन् ।

चुरेको काखमा रहेको यो मनोरम ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको समाजसेवी चौधरी बताउँछन् । उनका अनुसार यो ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरेपछि यहाँका सयौं मानिसले रोजगारी पाउँछन् । यस क्षेत्रको विकासमा समेट टेवा पुग्छ ।

तालमा पुग्दा चारैतीर रहेको हराभरा रुख, कहिल्यै गर्मी महसुस नहुने प्रकृति र बीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले मन आनन्दित हुने गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘यो ठूलो सम्भावना बोकेको ताल हो । यसको विकासमा सरकारले विशेष चासो देखाउनुपर्छ । ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिए पर्यटक उर्लिनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर