कांग्रेसले किन रोक्यो स्थानीय निर्वाचनकेन्द्रित अभियान ? – Nepal Press

कांग्रेसले किन रोक्यो स्थानीय निर्वाचनकेन्द्रित अभियान ?

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय निर्वाचनलक्षित एक महिने अभियान प्रभावित भएको छ । केही जिल्लामा जिल्ला अधिवेशन जारी रहेको कारण देखाउँदै कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान तत्कालका लागि स्थगित गरेको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २० गतेदेखि १ महिनासम्म स्थानीय निर्वाचन लक्षित कार्यक्रम घोषणा गरेको थियो ।

कार्यक्रम अन्तर्गत केन्द्रीय नेताहरुलाई जिल्ला तथा स्थानीय तहमा परिचालन गर्ने तयारी थियो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले अभियान नरोकिएको तर केही ढिलो सुरु हुने बताए । ‘स्थानीय तहकेन्द्रीत अभियान भएकोले हामीले निर्णय गरेपछि तल्लो तहमा कामहरु सुरु भएको छ तर केन्द्रबाट प्रतिनिधि खटाएर गरिने मूल अभियान भने केही दिनपछि सुरु हुन्छ’, महतले नेपाल प्रेससँग भने ।

महतका अनुसार १४ औं महाधिवेशन अन्तर्गत केही जिल्लामा अधिवेशन जारी रहेकोले अभियानका लागि थप समय लिइएको हो ।

जिल्ला अधिवेशनलाई कांग्रेसले कारण देखाए पनि भर्खरै एमसीसी संसदबाट अनुमोदन भएको, जनस्तरमा त्यसप्रति विरोध कायमै रहेकाले वडा तहसम्म अभियान लैजान उपयुक्त समय नभएको निष्कर्षमा कांग्रेस नेताहरु पुगेको बतान्इछ ।

‘एमसीसीबारे तलसम्म फैलिएको भ्रम चिर्न अझै केही समय लाग्छ । अलि समय लिएर अभियान सुरु गर्दा प्रभावकारी होला भन्ने बुझाइ शीर्ष नेताहरुमा रहेको छ’, कार्यसम्पादन समितिका एक नेताले अभियान सर्नुको कारणबारे बताए ।

सरकारले स्थानीय निर्वाचन अगाामि बैशाख ३० गते गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर