सवा दुई करोड लगानीमा तिलोत्तमाको अतिथि गृह – Nepal Press

सवा दुई करोड लगानीमा तिलोत्तमाको अतिथि गृह

रुपन्देही । सवा दुई करोड लगानी गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो अतिथि गृह बनाएपछि यसको आवश्यकताका विषयमा चर्चा सुरु भएको छ ।

नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो ।

हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो ।

नगरपालिकाका योजना प्रमुख इञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७ लाख रहेको छ ।

अतिथि गृह तथा सभाहलको बुधबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए ।

कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर