पललाई भेट्न दमौली पुगिन् पुजा शर्मा, शनिबार हलमा लगेर दर्शकसँगै फिल्म हेराउने गफ – Nepal Press

पललाई भेट्न दमौली पुगिन् पुजा शर्मा, शनिबार हलमा लगेर दर्शकसँगै फिल्म हेराउने गफ

काठमाडौं । जबरजस्ति करणीको आरोपमा पल शाहविरुद्ध किटानी जाहेरी परेदेखि नै उनको समर्थनमा खुलेर बोल्दै आएकी हुन् नायिका पुजा शर्मा । अहिले पनि उनी पलको पक्षमा बयानबाजी गर्न हिच्किचाइरहेकी छैनन् ।

पुजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ र सुखद व्यापार गरिरहेको छ । यो चलचित्रमा पल शाह मुख्य भूमिकामा छन् ।

चलचित्रको प्रमोशनका क्रममा विभिन्न हलहरुमा पुग्दा पुजालाई सञ्चारकर्मीले राख्ने जिज्ञासा पलकै विषयमा हुन्छ । उनी खुलेर जवाफ पनि दिन्छन् ।

हिजो एउटा हलमा सञ्चारकर्मीसँग कुरा गर्दै पल बिना आफूलाई एक्लो फिल भइरहेको बताएकी थिइन् । शनिबारसम्म पललाई दर्शकसामू फिल्म हेराउने धोको रहेको उनको भनाइ थियो ।

‘म भोली पललाई भेट्न जान्छु । कति मनमा लागेका कुराहरु रोकेर राखेको छु । अहिले पल र म भए कति सहज हुन्थ्यो । एक्लो फिल भइराखेको छ । भोली बिहानै तनहुँ गएर शनिबारसम्म सबै दर्शकसामु ल्याउने ठूलो रहर छ,’ पुजाले भनिन् ।

उनले थपिन्, ‘मान्छेको इच्छा त हुन्छ नि त । उसले गरेको छ या छैन भन्ने प्रुफ भएको छैन । उसको सपना यो छ (फिल्म हेर्ने) भनेपछि जसरी पनि पूरा गर्नु नै पर्छ ।’

पललाई प्रहरीले हातमा हत्कडी लगाएकोमा उनले चित्त दुखाइन् ।

पुजाले भनिन्, ‘यहाँ कलाकारको भ्यालु बुझिएन । पललाई हत्कडी लगाएको देख्दा मलाई यस्तोसम्म नराम्रो लाग्यो… उ दोषि प्रुभ भइसकेपछि त ठीक छ, मानिन्छ । अहिले त प्रुभ भइसकेको छैन नि । नेपाली कलाकारलाई केही सम्मान छैन, भ्यालु पनि छैन भन्ने फिल गरेँ मैले । एउटा कलाकारलाई जे गर्दा पनि भयो, जे भन्दा पनि भयो । देश यत्तिकै पछि परेको होइन ।’

सुरुवातदेखि नै पललाई फसाइएको जस्तो आफूलाई फिल भएको पुजाले बताइन् । जबरजस्ति उनलाई पाउन प्रयास भएको भन्दै उनले सबै कुरा प्लानिङमा भएको दावीसमेत गरिन् ।

‘यदि बलात्कारी हो भने बलात्कारीसित बिहे गर्छु भन्छ कसैले ? मैले यो केसलाई यति मिलाउन खोजेँ, तर सबै प्लानिङमा भएको रहेछ । माया भनेको मागेर पाईंदैन । माया भनेको त्याग हो । माया एकतर्फी कहिल्यै हुँदैन । उसले सोच्नु पर्ने कुरा हो,’ पुजाले भनिन् ।

उनले बलात्कारको अर्थ नै अहिलेसम्म आफूले बुझ्न नसकेको बताइन् ।

‘पलले आएर कपडा सपडा च्यातिदिने गरेको जस्तो त लाग्दैन । पल त्यस्तो क्यारेक्टरको केटा नै होइन । खासमा मैले बलात्कारको मिनिङ नै बुझेको छैन । अहिले बल्ल बुझ्दैछु,’ पुजाले भनिन् ।

पुजा आज पललाई भेट्न दमौली पुगिसकेकी छन् । अहिले उनी दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा युट्यूवरको भिडमा प्रवेश भइसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर