बोर्ड र नेप्सेका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले भने- सेयर बजारमा चलखेल भयो – Nepal Press

बोर्ड र नेप्सेका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले भने- सेयर बजारमा चलखेल भयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबन) अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरेका छन् ।

धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलेसँगको छलफलमा अर्थमन्त्रीले सेयर बजार सेटिङमा चल्ने गरेको गुनासो गरे । कसले सेयर बजारमा कति चलखेल गरेको छ भन्ने कुरा आफूलाई जानकारी भएको उनको भनाइ थियो ।

अर्थमन्त्री शर्माले भने, ‘नेपाली सेयर बजारमा विभिन्न चलखेल हुने गरेको छ । सेटिङमा नै सेयर बजार घटाउन र बढाउन केही लागेका छन् । यो प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर अर्थ मन्त्रालयले काम गरिरहेको छ ।’

कसरी बजार सुधार गर्ने र के गर्दा लगानीकर्ताको लगानी सुरक्षित हुन्छ भनेर मन्त्रालय लागिरहेको उनले बताए । पुँजीबजारले नै पुँजी निर्माण र लगानीकर्ताहरुलाई प्रतिफल दिने गरी काम गर्नुपर्ने भन्दै उनले धेरैले नबुझी सेयर बजार लगानी गरेको उल्लेख गरे ।

‘नबुझेका लगानीकर्ताहरुलाई पनि बुझाउन आवश्यक रहेको छ । इन्साइडर ट्रेडिङ भइरहेको छ । त्यसलाई रोक्नु पर्छ ।’ उनले भने ।

टीएमएस र एपीआइको सुधार पनि गर्न आवश्यक रहेको अर्थमन्त्रीले बताए । सेबन र नेप्सेको तालमेल नमिल्दा पनि सेयर बजारमा समस्या आएको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले भने, ‘५० लाखको हाराहारीमा मान्छे जोडिएका छन् । दोस्रो बजारमा नै ११ लाख सक्रिय छन् । साना लगानीकर्ताहरु समस्यामा परेका छन् । त्यो समस्या पनि समाधान गर्नुपर्छ । एसेम्बल गर्ने कम्पनीहरुलाई पनि पुँजी बजारमा भित्र्याउनका लागि काम गर्नुपर्ने बेला आएको छ ।’

सेयर किनेकै दिन विक्री गर्न सक्ने व्यवस्था मिलाउन र ब्रोकरलाई व्यवस्थित गराउन सेबनका अध्यक्ष र नेप्सेका सिईओलाई अर्थमन्त्रीले निर्देशन दिएका छन् । हाल सेयर किनेको केही दिनपछि मात्रै आफ्नो खातामा आउने गरेको छ ।

फोनबाटै सेयर कारोबार, सेटलमेन्ट ग्यारेन्टी, भविष्यको मूल्यांकन गरेर समेत सेयर खरिदबिक्री, मार्जिन ल्यान्डिङमा सुधार गर्न सक्ने व्यवस्था मिलाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर बजारमा भएका समस्याहरु समाधन गर्दै जाने बताए ।

उनले भने, ‘सेयर बजारमा सुधार गर्नुपर्ने काम हामीले गर्दै जाने छौं । सेवनले प्रविधिकलगायत सबै काम गर्नुपर्ने छ । ती कामहरु गर्छ ।’

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ कृष्ण कार्कीले सेयर बजारमा धेरै कारोबार भएको बेला सिस्टममा नै समस्या आउने अवस्था रहेको र त्यसलाई सुधार गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर