पशुपतिको वागमती पुल भत्किएकोबारे कोषले भन्यो- उच्छृंखल समूहले धकेल्दा घटना भयो – Nepal Press

पशुपतिको वागमती पुल भत्किएकोबारे कोषले भन्यो- उच्छृंखल समूहले धकेल्दा घटना भयो

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरको वत्सलेश्वरी तर्फको वागमती पुलको उत्तरी खण्डको पर्खाल भत्किएको छ । मंगलबार महाशिवरात्रीमा भीडका कारण जीर्ण रहेको पुलको पर्खाल भत्कँदा नदीमा खसेर २ जना घाइते भएका छन् ।

हिजो बेलुका करिब साढे ८ बजे पुलको पर्खाल भत्किएको हो । बिहानैदेखि पुलमा मन्दिर दर्शन गर्न आउनेको भीड थियो ।

‘करिब साढे ८ बजेको समयमा एकदमै भीड थियो । त्यहाँ धेरै भीड भयो त्यही त हो युवाहरूले हुलदंगा, ठेलाठेल गरे । कतिपयले पर्खाल नै धेकेले । अब कसले धेकेले भन्ने देखिएन । भीडमा केहीले धकेलाधकेल गर्दा प्रेसर पर्‍यो र भत्केको हो ’, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । महाशिवरात्रीमा आएका केही उच्छृंखल समूहले पुलमा धकेलाधकेल गर्दा पर्खाल भत्किएको उनले बताए ।

उनका अनुसार जीर्ण भइसकेको पुलमा क्षमता भन्दा बढी भार परेको थियो । समयमै प्रहरी लगाएर भीड हटाउनाले ठूलो मानवीय क्षति नभएको उनले बताए । पुलको अवस्था हेर्दा पुलको जग नै भत्किन लागेको छ ।

पुल भत्किएर घाइते भएकामध्ये एकजना सामान्य उपचार पछि घर फर्किसकेको र अर्का एकको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको पशुपति प्रवक्ता अधिकारीले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘अस्पताल भर्ना भएकाको अवस्था सामान्य नै छ । आज बेलुकासम्म डिस्चार्ज हुन्छ । घाइते दुवैजना महाशिवरात्रीको मेला भर्न आएका थिए ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर