एमसीसीमा एमालेलाई जोडेर निर्लज्ज ढंगले हल्ला चलाइयो : ओली (भिडिओ) – Nepal Press

एमसीसीमा एमालेलाई जोडेर निर्लज्ज ढंगले हल्ला चलाइयो : ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दावी गरेका छन् ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेकाे र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए ।

‘निर्लज्ज ढंगले हल्ला चलाइयो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसदमा ल्याइयो र प्रदीप ज्ञवाली अमेरिका गएका बेला आईपीएसको अंग बनाइयो ।’

ओलीले एमसीसी सम्झाैता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे । ‘सम्झौता गठबन्धनवालाले गरे,’ उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं । हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन ।’

ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘तथाकतिथ व्याख्यात्मक घोषणा गर्नु भयो, त्यसको कुनै अर्थ छैन् ।’

ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए । ‘यसभित्र राजनीति नगरि यसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्ने थियो,’ ओलीले भने, ‘यसबाट मतभेद सिर्जना गर्ने, हुँडलो मच्चाउने काम भयो ।’

ओलीले माओवादी केन्द्र र एकीकृत समाजादीप्रति समेत कटाक्ष गरे । एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘एमसीसीमा राष्ट्रघात भएको हो कि होइन ?,’ उनको प्रश्न छ, ‘होइन भने किन कार्यकर्ता परिचालन गर्नुभयो, कार्यकर्ता भत्काउनुभयो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर