एमालेले भन्यो- एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ – Nepal Press

एमालेले भन्यो- एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको एमालेको भनाइ छ ।

कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व नै त्यसका सम्भावित परिणाममा ध्यान दिनुपर्ने एमालेले बताएको छ । सम्झौता भइसकेपछि कार्यान्वयनमा लाग्नुपर्नेतर्फ जोड दिँदै ओलीले यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुने प्रष्ट्याएका छन् ।

‘अहिले सत्ता गठबन्धनका केही नेताहरूबाट अपारदर्शी ढङ्गले जे-जस्तो सहमति पनि गर्न तयार हुने तर जननिर्वाचित प्रतिनिधिहरूको नजरबाट लुकाउन खोज्नेजस्ता वैध चरित्र प्रदर्शन भएको छ । सरकारले गरेको सम्झौता सुटुक्क लागू गर्न छोडेर संसदमा किन पेस गरियो भन्नेजस्ता छली प्रवृत्तिसँग नेकपा (एमाले) सहमत हुन सक्दैन ‘, एमालेले भनेको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर