एमसीसी अनुमोदनको पराकम्पः जनमोर्चा सत्तारुढ गठवन्धनबाट बाहिर – Nepal Press

एमसीसी अनुमोदनको पराकम्पः जनमोर्चा सत्तारुढ गठवन्धनबाट बाहिर

काठमाडौं । संसदबाट हिजो एमसीसी सम्झौता पारित भएसँगै सत्तारुढ गठवन्धनमा यसको पहिलो पराकम्प देखिएको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गठवन्धनबाट बाहिरिने निर्णय लिएको छ ।

एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको भोलिपल्टै राजमोले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा जनमोर्चाको एक सांसद छन् । सरकारमा भने राजमोको प्रतिनिधित्व छैन ।

सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने ।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो । यससँगै सत्तारुढ गठवन्धन ४ वटा दलमा खुम्चिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर