दर्शकसँग बसेर फिल्म हेर्ने पल शाहको इच्छा, प्रहरी भन्छ- असम्भव – Nepal Press

दर्शकसँग बसेर फिल्म हेर्ने पल शाहको इच्छा, प्रहरी भन्छ- असम्भव

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले पक्राउ पर्नुअघि जारी गरेको भिडिओ सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस् ।’

‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले आज स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘तिमीले चलचित्रबाट देखेको सपना तिमीलाई माया गर्ने दर्शकहरूले चलचित्र हेरेर मन पराइ दिएर पूरा गर्दिनु भएको छ । दिनप्रतिदिन दर्शकको साथ दोब्बर हुँदै गएको छ । साथै तिमीलाई सिनेमाघरमा दर्शकहरुले धेरैनै खोज्दै छन् । हाम्रो टिमको र दर्शकको पनि तिमीसँग बसेर सिनेमा हेर्ने सपना छ । छिट्टै सबैको सपना पूरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

प्रहरी स्रोतले भने यस्तो कुरालाई हास्यास्पद संज्ञा दियो । बलात्कारजस्तो गम्भीर अपराधमा पक्राउ परेको अभियुक्तलाई सुरक्षा दिएर हलमा फिल्म हेर्न लैजाने कुरा असम्भव रहेको स्रोतको भनाइ छ ।

पल हिजो जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । हिजो नै जिल्ला अदालत तनहुँले उनलाई सात दिनको म्याद थप गरिसकेको छ । सामान्यतया तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने अपराधमा धरौटीमा छुट्ने सम्भावना पनि क्षीण हुन्छ । पलमाथिको आरोप प्रमाणित भए उनीमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने सम्भावना छ ।

‘कम्तीमा १० वर्ष कैद सजाय हुन सक्ने अपराधमा मुछिएको व्यक्तिले प्रहरी नियन्त्रणमै हलमा गएर फिल्म हेर्ने कुरा गर्नु हास्यास्पद हो,’ स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर