‘व्याख्यात्मक टिप्पणी’ ले जोगियो गठबन्धन, चुनावी तालमेलमा भने अझै संशय – Nepal Press

‘व्याख्यात्मक टिप्पणी’ ले जोगियो गठबन्धन, चुनावी तालमेलमा भने अझै संशय

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनमा विवाद बढ्दा धर्मराएको ५ दलीय सत्ता गठबन्धन ‘व्याख्यात्मक टिप्पणी’ को तागतमा जोगिएको छ । एमसीसीकै कारण गठबन्धन टुट्नसक्ने आँकलनका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको सहकार्यले निरन्तरता पाएको छ ।

५ दलीय गठबन्धनका लागि सबैभन्दा चुनौती मानिएको एमसीसी अनुमोदनको सन्दर्भ सकिएपनि यसका परकम्पहरू राजनीतिकरूपमा बाँकी नै रहने देखिन्छ । किनकी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहेका माओवादी र समाजवादीसँग चुनावी मोर्चाका लागि कांग्रेस अझै तयार भइसकेको छैन ।

सरकारको ध्यान अब निर्वाचनतिर

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता एमसीसी संसदबाट अनुमोदन गराउनु नै थियो । देउवा नेतृत्वको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा २०७६ पुसमै औपचारिक निर्णय लिइसकेको थियो । एमसीसीप्रति माओवादी र समाजवादीका नेताहरू भने सशंकित थिए । तत्कालीन नेकपामा हुँदा संसदबाट एमसीसी अनुमोदन हुन नदिने पक्षमा उभिएका अधिकांश नेताहरू माओवादी र समाजवादीमै भएकाले एमसीसी सरकारका लागि ‘फलामको च्यूरा’ बनेको थियो ।

गत माघ १५ गते नै एमसीसी पारित गराउने सैद्धान्तिक सहमति गरेपनि माओवादी र समाजवादीको आन्तरिक झमेलाले कुनैबेला एमसीसी अनुमोदनको सम्भावना टर्नै लागेको थियो । अब भने गठबन्धनलाई एमसीसीमा अल्मलिनुपर्ने बाध्यता समाप्त भएको छ । यहीकारण गठबन्धन सरकारको ध्यान अब निर्वाचनतर्फ केन्द्रित हुने नेताहरूको भनाइ छ ।

५ दलीय गठबन्धनका लागि सबैभन्दा चुनौती मानिएको एमसीसी अनुमोदनको सन्दर्भ सकिएपनि यसका परकम्पहरू राजनीतिकरूपमा बाँकी नै रहने देखिन्छ । किनकी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहेका माओवादी र समाजवादीसँग चुनावी मोर्चाका लागि कांग्रेस अझै तयार भइसकेको छैन ।

‘सरकारले वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ । सरकार अब निर्वाचनलाई सफल पार्न केन्द्रित हुन्छ’, एक मन्त्रीले नेपाल प्रेससँग भने । ती मन्त्रीका अनुसार एमसीसी पारित भएलगत्तै सरकारको ध्यान चुनावमा केन्द्रित हुने प्रधानमन्त्री देउवाले बताइसकेका छन् ।

चुनावी तालमेल : अझै बाँकी छ सकस

एमसीसीको सकस सकिएपनि सत्तारुढ गठबन्धनको राजनीतिक भविष्यको सकस सकिएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिकरूपमै तीनै तहको निर्वाचनमा तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।

चुनावी गठबन्धन नबन्दा बढी राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेका साझेदार दलहरूलाई कांग्रेसले निर्णय दिइसकेको छैन । यद्यपि चुनावी गठबन्धनबारे कांग्रेसमा २ थरी मत व्यक्त भएका छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत चुनावी तालमेलबारे सकारात्मक छन् ।

नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने पक्षमा छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अघिल्लो बैठकमा अधिकांश नेताले चुनावी तालमेल गर्न नहुने मत व्यक्त गरेका थिए । कतिपय नेताले भने सत्ता सहकार्य कायमै रहेकोले स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्न सकिने बताउने गरेका छन् ।
अघिल्लो निर्वाचनदेखि यता विभाजनको मार नखेप्ने कांग्रेस एक्लो राष्ट्रिय पार्टी हो ।

तत्कालीन नेकपादेखि, नेकपा एमाले, नेकपा माओवादी, जसपा , राप्रपा र राष्ट्रिय जनमोर्चासमेत यो अवधिमा विभाजित भएका छन् । सत्ता गठबन्धन कायम नराख्दा विगतमा झैं वामगठबन्धन बन्न सक्ने खतरा समेत टरेको छैन । यहीकारण चुनावी तालमेलबारे कांग्रेस अझै केहीसमय अनिर्णित नै हुने देखिन्छ । एमसीसी प्रकरणमा धर्मराएको ‘आन्तरिक विश्वास’ सुधार नहुँदासम्म चुनावी तालमेलको सकस कायमै रहन्छ ।

कांग्रेस सचेत हुनुपर्छ : वरिष्ठ पत्रकार विरही

राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार हरिहर विरही एमसीसी प्रकरणबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताउँछन् । एमसीसीमा गठबन्धनका वाम दलहरूले दोहोरो भूमिका खेलेकोले चुनावी तालमेल कांग्रेसको सुझबुझपूर्ण निर्णयको विषय रहेको विरही बताउँछन् ।

‘एमसीसीमा वाम दलहरूको भूमिका सकारात्मक रहेन । कांग्रेसले गठबन्धनकै साथ लिन जुन मिहिनेत गर्नुपर्‍यो यसबाटै पाठ सिक्नुपर्छ । भविष्यमा पनि गठबन्धनका दलहरू प्रतिवद्धताप्रति जिम्मेवार नहुन सक्छन्’, विरहीको भनाइ छ ।

चुनावी गठबन्धन नबन्दा बढी राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेका साझेदार दलहरूलाई कांग्रेसले निर्णय दिइसकेको छैन । यद्यपि चुनावी गठबन्धनबारे कांग्रेसमा २ थरी मत व्यक्त भएका छन् ।

चुनावी तालमेल माओवादी र समाजवादीका लागि अपरिहार्य देखिएको विरहीको दाबी छ ।

‘धेरै राजनीतिक कारणले कांग्रेससँगको तालमेल जोगाएर लाभ लिनुपर्ने बाध्यता गठबन्धनका वाम दलहरूलाई छ । तर क्षणिक लाभका लागि निर्णय गर्दा कांग्रेस नै समस्यामा पर्नसक्छ’, उनी भन्छन् । विरहीका अनुसार चुनावमा कांग्रेसले संगठित तालमेल गर्न जरुरी छैन । ‘स्थानीय आवश्यकताले कतै भयो भने अर्कै कुरा हो नत्र सीट बाँडेर प्रतिबद्ध गठबन्धन गर्न जरुरी देख्दिन’, उनले भने ।

एमसीसी अनुमोदनको राजनीतिक झन्झटबाट गठबन्धनमुक्त भएपनि यस दौरान खुकुलो भएको गठबन्धनको गाँठो कस्नु सत्ता साझेदार दलहरूलाई नयाँ चुनौती बनेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर