सहिद स्मारक लिग: सुनिलको बलमा उठेको मच्छिन्द्र – Nepal Press

सहिद स्मारक लिग: सुनिलको बलमा उठेको मच्छिन्द्र

काठमाडौं । भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरले नयाँ पुस्तालाई सम्बाेधन गर्दै कुनै एक सन्दर्भमा भनेका छन्– तपाईं कति रन बनाउनु हुन्छ भन्दा पनि कस्तो अवस्थामा ती रन बनाउनु हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । तेन्दुलकरको यो भनाइ क्रिकेटमा मात्र होइन, अरु खेलमा पनि उत्तिकै सान्दर्भिक छ ।

यो सिजन शहिद स्मारक ए डिभिजन लिगमा सुनिल बलले गरेको एक गोलले उपाधि होडको समीकरण फेरिदियो । सुरुको पाँच खेलको समाप्तिमा मनाङ मर्स्याङ्दी १३ अंकसहित शीर्षस्थानमा थियो । सुनिल आबद्ध मच्छिन्द्र ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा थियो ।

लिगको सुरुको सात चरणको समाप्तिमा शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपको छनोटमा नेपालबाट सहभागी गराउने एन्फाले निर्णय गरेकाले छैटौँ चरणमा मनाङ र मच्छिन्द्रबीचको खेलमा सम्भवत लिगको यो सिजनकै सर्वाधिक चासो थियो । दशरथ रंगशालामा भएको त्यस खेलमा दुवै टोली अंक बाँड्नतर्फ उन्मुख थिए । बराबरी नतिजा पनि मनाङलाई २ अंकको अग्रताका लागि पर्याप्त थियो ।

तर, दोस्रो हाफको इन्जुरी समयमा सुनिलले करिब ३० यार्डबाट शानदार फ्रि–किक गोल गर्दै मनाङलाई स्तब्ध मात्र बनाएनन्, एएफसी कप छनोटमा टोलीको स्थान बनाउने आधार बलियो पारे । सातौँ चरणको खेलमा मच्छिन्द्रले नेपाल पुलिसलाई १–० गोलले हराएर एएफसी कप छनोटमा स्थान बनाएको हो ।

संयोग नै मान्नुपर्छ, त्यस खेलमा पनि सुनिलले नै निर्णायक गोल गरेका थिए । त्यस चरणमा मनाङले पनि ब्रिगेड ब्वाइजलाई १–० गोलले हराएको थियो, तर एएफसी कप छनोटमा पुग्न पर्याप्त बनेन । एक गोल, मच्छिन्द्रका लागि यो सिजन घरेलु लिगमा पाँचपटक तीन अंक दिलाउन पर्याप्त बन्यो ।

मनाङलाई हराउनुअघि यो सिजन उसले कुनै पनि खेलमा १–० गोलको जित हात पार्न सकेको थिएन । तर, मनाङलाई हराएपछि सातौँ, आठौँ, ११ औँ र १२ औँ चरणका खेल पनि मच्छिन्द्रले समान १–० गोलले जितेको थियो ।

एउटा गोलले धराशयी मनाङ

खेल जित्न एक गोल मात्र पनि पर्याप्त हुन्छ भन्ने नमिठो अनुभव गरेको मनाङ, मच्छिन्द्रसँग खेलेयता खराब समयबाट गुज्रियो । यस्तो देखियो कि मनाङ एएफसी कप छनोटबाट बाहिरिएपछि उसका लागि गुमाउनु केही थिएन ।

हुन पनि शनिबार लिग समाप्त हुँदा मनाङ १३ खेलबाट २१ अंक जोडेर पाचौँ स्थानमा झरेको थियो । लिग जितेको मच्छिन्द्रले १३ खेलबाट ३५ अंक बटुल्यो । प्रतियोगितामा उसले ११ जित र दुई बराबरीको नतिजा निकाल्यो । एउटा पनि हार ब्यहोरेन । अन्तिम खेलमा मनाङसँग १–१ गोलको बराबरी खेल्दै त्रिभुवन आर्मी क्लब पनि अपराजित रह्यो र उपविजेता पनि बन्यो ।

सुरुको ८ चरणपछि मनाङ लयबाहिर देखियो । पछिल्ला पाँच खेलमा मनाङले जित हात पार्न सकेन । यसबीचमा ३ हार र दुई बराबरीको नतिजा निकाल्यो । नवौँ चरणमा सातदोबाटो युथसँग २–१, ११ औँ चरणमा एपीएफसँग ३–१ र १२ औँ चरणमा एनआरटीसँग १–० गोलले पराजित भयो । अन्तिम खेलमा आर्मीसँग बराबरीमा रोकिनुअघि मनाङले १० औँ चरणमा थ्रीस्टारसँग पनि १–१ गोलको बराबरी खेलेको थियो ।

सुनिलले १० औँ चरणमा मच्छिन्द्रले च्यासल युथ क्लबलाई २–० गोलले हराउँदा पनि एक गोल गरेका थिए । उल्लेख्य के छ भने सुनिलकै गोलमा साविक विजेता मच्छिन्द्रले लिगमा शानदार सुरुवात गरेको थियो, पहिलो खेलमा न्युरोड टिम–एनआरटीलाई २–१ गोलले हराउँदै ।

११ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका सुनिलले दोस्रो हाफको सुरुवातमै एनआरटी बराबरीमा फर्किएपनि ८० औँ मिनेटमा गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाएका थिए । चौथो चरणमा मच्छिन्द्रले हिमालयन शेर्पालाई ३–० गोलले हराउँदा पनि सुरुवाती अग्रता सुनिलले नै दिलाएका थिए ।

घरेलु लिगको उपाधि स्वाद

सुनिल एन्फा एकेडेमीका उत्पादन हुन् । विमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङलगायतसँगै उनी एन्फा एकेडेमीमा हुर्किएका हुन् । गत सिजन च्यासलबाट ए डिभिजन लिग खेलेका सुनिललाई यो सिजन भने मच्छिन्द्रले भित्र्याएको थियो ।

गत सिजन पनि घरेलु लिगको उपाधि जितेका कारण मच्छिन्द्र रोजाईमा पर्नु अस्वभाविक थिएन । सन् २०१८ देखि सिनियर राष्ट्रिय टोलीमा पहिलो रोजाईका सदस्य रहेका सुनिल शसक्त क्लबको खोजीमा थिए ।

मनाङलगायत विभिन्न क्लबका बलिया खेलाडीलाई भित्र्याएर गत सिजन घरेलु लिग च्याम्पियन बनेको मच्छिन्द्र यो सिजन पनि सुरुवातदेखि नै दावेदार थियो ।

गोलकिपर विशाल श्रेष्ठसहित सुजल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल, मनिष डाँगी, विमल घर्तीमगर मच्छिन्द्रमा रहेकाले पनि घरेलु लिगको उपाधि भोक मेट्न सुनिललाई राम्रो गन्तव्य हुनेवाला थियो । त्यसैलाई विपनामा बदल्दै सुनिलले यो सिजन घरेलु लिगको उपाधि मात्र जितेनन्, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर