विद्युत प्राधिकरणले आईपीओ ल्याउने, पायो ‘डबल ए प्लस’ क्रेडिट – Nepal Press

विद्युत प्राधिकरणले आईपीओ ल्याउने, पायो ‘डबल ए प्लस’ क्रेडिट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइपीओ ल्याउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

उनले भने, ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो । अब सबै वित्तीय सूचकाङ्कमा उल्लेख्य सुधार आइसकेको छ । क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार सेयर निष्काशन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि जाने छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले वित्तिय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको जानकारी दिए ।

प्राधिकरणले अहिले विश्व बैंक, एसियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ ।

क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकाले अब त्यस्ता निकायसँग प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सिधै ऋण खोज्न र लिन सक्ने छ ।

ऐनमा प्राधिकरणको सेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्काशन गरेको सेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ ।

सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनः संरचनाअन्तर्गत सेयर निष्काशनका लागि सहमति दिइसकेको छ ।

प्राधिकरण ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ भन्ने हो ।

डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यूनमात्रामा ऋण भुक्तानी जोखिम हुन्छ ।

इक्राको रेट्रिपछि अब प्राधिकरणको साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाउनसमेत मार्ग प्रशस्त भएको छ । प्राधिकरणले चालू आवको छ महिनामा १२ अर्ब रुपैयाँ बराबरको नाफा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर