सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ गर्न सकिने – Nepal Press

सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ गर्न सकिने

रुकुमपूर्व । रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ ।

मन्त्रालयका प्राविधिक विवेक शाहले भने,‘सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।’

टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायतले परीक्षण जलयात्रामा सहभागी भएका थिए ।

सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताउनुभएको थियो । सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएकोे थियो ।

यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो । अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् । अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ ।

सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ । चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुदाँ सानीभेरी जलयात्राका लागि उत्तम मानिने छ ।

अब यहाँको परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ । मन्त्रालयलले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ । राम्रो सम्भावना बोकेको ठाउँमा जलयात्राको विकास र पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *