लिग च्याम्पियन मछिन्द्रका सुनिल बल सर्वोत्कृष्ट : क-कस्ले पाए विधागत पुरस्कार ? – Nepal Press

लिग च्याम्पियन मछिन्द्रका सुनिल बल सर्वोत्कृष्ट : क-कस्ले पाए विधागत पुरस्कार ?

काठमाडौं । मछिन्द्र फुटबल क्लबका फरवार्ड सुनिल बल सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी घोषित भएसँगै उनले तीन लाख नगद प्राप्त गरे ।

यस्तै, मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । उनले दुई लाख प्राप्त गरे । लिगमा सबैभन्दा धेरै क्लिन सिट राख्ने उनी एक मात्र गोलकिपर हुन् । विशालले खेलेका १३ खेलमा दुई गोल मात्र खाएका छन् ।

फ्रेन्ड्स क्लबका जमोल एन्थोनी फ्रेन्कोइस सात गोल सहित लिगको सर्वाधिक गोल स्कोरर बने ।

दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबका दिनेश हेन्जन इमर्जिङ प्लेअर घोषित भए । उनले एक लाख ५० हजार प्राप्त गरे ।

नवप्रवेसि सातदोबाटो युथ क्लबले लिगको फेयर प्ले अवार्ड प्राप्त गर्यो । फेयर प्ले अवार्ड सँगै सातदोबाटोले नगद दुई लाख प्राप्त गर्यो ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगमा शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गरेसँगै २०७८ सिजन सकिएको छ ।

लिगको समाप्तिमा च्याम्पियन मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । यस्तै,दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबले २३ अंक र तेस्रो स्थानको न्युरोड टिम (एनआरटी) ले २३ अंक जोड्न सफल भयो ।

आर्मीसँग समान अंक भएपनि एनआरटी हेड टू हेडमा तेस्रो भएको हो । चौथो स्थानको सातदोबाटो युथ क्लबले २१ र पाँचौ स्थानको मनाङ मर्स्याङदी क्लबले समान २१ अंक जोड्यो ।

यस सिजन लिगका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भए ।

लिगको पुछारमा रहेको च्यासलले ६ अंक जोड्दा १३औं स्थानको बिबिसीले आठ अंक जोड्यो ।

च्याम्पियन बनेसँगै मछिन्द्रले ७५ लाख प्रप्त गरेको छ । दोस्रो स्थानको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर